प्रतिनिधिसभाले उपसभामुख पाउँदै, बहुमतको बलमा रुवीकुमारीको जित निश्चित

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २७, शुक्रबार ०७:०६
रुवीकुमारी ठाकुर ।

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाले आज (शुक्रबार) नयाँ उपसभामुख पाउने भएको छ । दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्ने कार्यसूची तय भएको छ ।

वर्तमान राजनीतिक समीकरण र संख्यात्मक अवस्था हेर्दा उपसभामुख चयनका लागि हुने निर्वाचन औपचारिकतामा मात्रै सीमित हुने देखिएको छ । उपसभामुख पदका लागि दुई महिला सांसदबीच प्रतिस्पर्धा हुँदैछ ।

Advertisement

श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामा आमनेसामने छन् । निर्धारित समयसीमाभित्र दुई उम्मेदवारको मात्र मनोनयन दर्ता भएको थियो ।

ठाकुरको उम्मेदवारीमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई प्रस्तावक रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अशोककुमार चौधरी र श्रम संस्कृतिकी अम्बिकादेवी निरौला समर्थकको रूपमा उभिएका छन् । यसले सत्तारुढ दल रास्वपाको समर्थन ठाकुरको पक्षमा रहेको स्पष्ट पार्छ ।

यता, सरस्वती लामाको उम्मेदवारी राप्रपाकै नेताहरूले अघि सारेका छन् । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही प्रस्तावक रहेका छन् भने खुश्बु ओली, ताहिर अली र भरत गिरीले समर्थन गरेका छन् । तर, संसदभित्र राप्रपाको न्यून संख्याले लामाको सम्भावना कमजोर बनाएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा अहिले सबैभन्दा ठूलो रास्वपा हो । रास्वपाको एक्लै १८२ सिट रहेको छ । जुन स्पष्ट बहुमत हो । यही कारणले उसले समर्थन गरेको उम्मेदवारको जित सुनिश्चितजस्तै देखिएको छ । त्यही भएर ठाकुर निर्वाचित हुनेमा कुनै शंका छैन ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८, नेकपा (एमाले) का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का १८ र श्रम संस्कृति पार्टीका ७ सांसद छन् । राप्रपाको भने जम्मा ५ सिट मात्रै छ । जसले गर्दा उसले एक्लै प्रतिस्पर्धा जित्ने सम्भावना अत्यन्त न्यून देखिन्छ । स्वतन्त्र सांसदका रूपमा महावीर पुन पनि प्रतिनिधिसभामा छन् । उनको एकल मतले समग्र परिणाममा खास प्रभाव पार्ने अवस्था छैन ।

उपसभामुख चयनले प्रतिनिधिसभाको कार्य सञ्चालनलाई थप व्यवस्थित बनाउने छ । सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने, संसदीय प्रक्रिया अघि बढाउने लगायतका संवैधानिक जिम्मेवारी उपसभामुखको हुने भएकाले यो पद महत्वपूर्ण मानिन्छ । औपचारिक रूपमा नयाँ उपसभामुख चयन भएसँगै प्रतिनिधिसभाले पूर्ण नेतृत्व पाउनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.