एकै घरमा दोहोरो विपत्ति : बुवा जीवनमरणको संघर्षमा, श्रीमती क्यान्सरसँग लड्दै

Share this
745shares
मुलुकी खबर
पवन भण्डारी
clock२०८२ चैत २९, आइतबार १६:२३

विराटनगर । कहिलेकाहीँ जीवनले मान्छेलाई यस्तो मोडमा ल्याइदिन्छ । जहाँ दुःखले एकपछि अर्को ढोका ढकढक्याउँछ र आशाको उज्यालो क्षणभरमै बादलले ढाकिन्छ ।

यस्तै कठोर परिस्थितिको बीचमा अहिले विराटनगर महानगरपालिका–३ का सुरज भण्डारीको परिवार उभिएको छ । जहाँ एकातिर बुवा ६३ वर्षीय चक्रमनि भण्डारीको जीवनमरणको संघर्ष चलिरहेको छ भने अर्कोतिर श्रीमती परम्परा न्यौपाने भण्डारी तेस्रो चरणको क्यान्सरसँग जुधिरहेकी छन् ।

साउन महिनाबाट सुरु भएको घटनाक्रमले सुरज भण्डारीको परिवारलाई क्रमशः पीडाको गहिराइतर्फ धकेल्यो । उनका बुवा चक्रमनिले घाँटीको नसा च्यापिएको समस्याका कारण शल्यक्रिया गराएका थिए । सुरुमा सामान्य ठानिएको उक्त शल्यक्रिया पछि अवस्था अचानक जटिल बन्दै गयो । संक्रमणले शरीरमा गम्भीर असर पुर्‍यायो । मस्तिष्कमा पानी जम्ने, मेनिन्जाइटिसको संक्रमण र तरल पदार्थ चुहिनेजस्ता जटिल समस्याहरू देखिन थाले ।

स्थिति यति बिग्रियो कि अन्ततः मस्तिष्कघात र रक्तस्रावसम्मको अवस्था सिर्जना भयो । लामो समय चक्रमनि कोमामा रहे । जीवन जोगाउन चिकित्सकहरूले उनलाई श्वासप्रश्वास मेसिनमा राख्नुपर्‍यो । परिवारका लागि त्यो समय डर र आशंकाबीचको लामो रातजस्तै बन्यो । जहाँ प्रत्येक घण्टा नयाँ आशा र नयाँ डर लिएर आउँथ्यो ।

महिनौंको सघन उपचारपछि चक्रमनिको जीवन त जोगियो । तर, संघर्ष अझै समाप्त भएको छैन । हाल उनी अत्यन्त कमजोर अवस्थामा छन् । खाना निल्न सक्दैनन् । उभिँदा चक्कर लाग्ने समस्या छ । शरीरमा घाउहरू देखिन थालेका छन् । स्मरणशक्ति पनि कमजोर हुँदै गएको छ । चिकित्सकको सल्लाहअनुसार अब चक्रमनिलाई जीवनभर औषधि, नियमित फिजियोथेरापी र निरन्तर हेरचाह आवश्यक पर्नेछ ।

यही पीडाको बीचमा परिवारले केही क्षणको खुसी अनुभव गरेको थियो । मंसिर १९ गते घरमा छोरी जन्मिएपछि परिवारमा आशाको एउटा सानो दियो बलेको थियो । तर, त्यो खुसी धेरै समय टिकेन । सोही दिन साँझ सुरजकी श्रीमती परम्परालाई असह्य पेट दुखाइ र दिसासँग रगत आउने समस्या देखियो ।

परीक्षणपछि आएको रिपोर्टले परिवारलाई झन् ठूलो पीडामा डुबायो । परम्परालाई मलद्वारको क्यान्सर तेस्रो चरणमा पुगेको पुष्टि भयो । त्यो खबरले सुरजको संसार नै भत्किएको जस्तो बनायो । एकातिर बुवाको दीर्घ उपचार र अर्कोतिर श्रीमतीको जटिल क्यान्सर उपचार दुवै चुनौती एकैसाथ आइलागे ।

हाल सुरज आफ्नी श्रीमती परम्पराको उपचारका लागि उनलाई भारतको नयाँ दिल्ली लगिसकेका छन् । त्यहाँ चिकित्सकहरूले लामो र जटिल उपचार प्रक्रिया आवश्यक पर्ने बताएका छन् । जसअनुसार करिब १५ महिनासम्म निरन्तर उपचार र त्यसपछि पाँच वर्षसम्म नियमित निगरानी आवश्यक पर्नेछ ।

तर, यस कठिन यात्राको सबैभन्दा ठूलो अवरोध आर्थिक संकट बनेको छ । बुवाको लामो उपचार खर्च र श्रीमतीको क्यान्सर उपचारले सुरजको आर्थिक अवस्था पूर्ण रूपमा कमजोर बनाइसकेको छ । परिवारको सम्पूर्ण जिम्मेवारी एक्लैले सम्हालिरहेका उनी अहिले कामसमेत छोड्न बाध्य भएका छन् ।

एक्लो छोरा भएकाले बुवा र श्रीमती दुवैको हेरचाहको दायित्व उनीकै काँधमा छ । घरमा एकातिर बुवाको कमजोर स्वास्थ्य अवस्था र अर्कोतिर श्रीमतीको अस्पतालको बेडको दृश्यबीच सुरजको जीवन निरन्तर संघर्षमा बदलिएको छ । मानसिक रूपमा पनि उनी अत्यन्त दबाबमा छन् । तर, परिस्थिति र बाध्यताले सुरजलाई हिम्मत गुमाउने छुट दिएको छैन ।

उपचार खर्च जुटाउन असमर्थ भएपछि सुरजले देश–विदेशमा रहेका सबै शुभेच्छुक, दयालु मन र सहयोगी हातहरूसँग हार्दिक अपिल गरेका छन् । सानो सहयोगले पनि परिवारलाई ठूलो राहत मिल्ने विश्वास उनको छ ।

सहयोग गर्न चाहनेहरूका लागि बैंक विवरण नै उपलब्ध गराइएको छ ।

एनआईएमबी बैंक
खाता नामः परम्परा न्यौपाने
खाता नम्बरः ०१६००८४७७२००००११

सिटीजन्स बैंक
खाता नामः सुरज भण्डारी
खाता नम्बरः १७००१००००१३३२०४१

सुरजको यो पीडादायी यात्रामा सानो सहयोग, साथ र सहानुभूतिले पनि ठूलो अर्थ राख्छ । एउटा सानो हातले पनि कुनै परिवारलाई जीवनको अँध्यारोबाट बाहिर निकाल्न सक्ने भण्डारीको परिवारको बुझाइ छ । यस्तो कठिन घडीमा सुरज सबैप्रति सहयोग र सहानुभूतिको आग्रह गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.