
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले संसदीय दलको नेता चयन प्रक्रिया आफ्नो कारणले रोकिएको भन्ने चर्चालाई असत्य र भ्रामक बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उनले नाता वा नेताका आधारमा बनाइएका यस्ता भाष्यहरूको खण्डन गरे ।
केसीले दलको नेता चयनका लागि स्पष्ट मापदण्ड आवश्यक रहेको उल्लेख गर्दै सकेसम्म सर्वसम्मतिमा जोड दिएका छन् । उनले भनेका छन्, ‘सहमतिको मापदण्ड बनाऊँ र सबैभन्दा युवा वा सबैभन्दा वरिष्ठलाई नेता छानौँ, त्यसमा मेरो पूर्ण समर्थन रहनेछ ।’
संसदीय दलको नेता पद मात्र नभई प्रभावकारी प्रतिपक्षीको जिम्मेवारी समेत भएको भन्दै उनले निर्वाचनमा जानुपर्ने अवस्था आए योग्यता र तर्कका आधारमा निर्णय लिनुपर्ने बताए । साथै, प्रत्यक्ष वा समानुपातिक जुनसुकै माध्यमबाट आएका सांसद भए पनि उनीहरूबीच विभेद गर्न नहुने उनको धारणा छ । निर्णयमा ढिलाइभन्दा पनि परिपक्व र सक्षम नेतृत्व छनोट हुनुपर्नेमा उनले जोड दिएका छन् ।



















