
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह सतहमा आएको छ । महामन्त्री धवलशमशेर राणा पक्षधर नेताहरूको आइतबार कान्तिपथमा बसेको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान कार्यसमिति भंग गर्न माग गरेको छ ।
पार्टी ‘सच्चिने कि सकिने’ गम्भीर अवस्थामा पुगेको निष्कर्ष निकाल्दै असन्तुष्ट पक्षले निष्पक्ष व्यक्तिको संयोजकत्वमा ‘महाधिवेशन आयोजक समिति’ गठन गर्नुपर्ने तीन बुँदे माग अघि सारेको छ । बैठकले एक हप्ताभित्र केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न समेत नेतृत्वलाई अल्टिमेटम दिएको छ ।
निर्वाचनमा भएको ‘शर्मनाक पराजय’को नैतिक जिम्मेवारी अध्यक्षले नलिएको भन्दै राणा पक्षले आपत्ति जनाएको छ । ‘पार्टीलाई देशको पहिलो शक्ति बनाउँछु भन्नुभएको थियो, तर नतिजा अकल्पनीय रूपमा नकारात्मक आयो,’ बैठकपछि जारी निर्णयमा भनिएको छ ।
निर्वाचनको समीक्षा नगरेको र उपसभामुख पदमा उम्मेदवारी दिँदा पार्टीभित्र छलफल नगरेको भन्दै नेतृत्वको चर्को आलोचना गरिएको छ । उपसभामुखको उम्मेदवारीले पार्टीको निष्ठा र सैद्धान्तिक आधारमाथि नै प्रश्न उठाएको असन्तुष्ट पक्षको ठहर छ ।



















