
काठमाडौं । सरकारले विद्यार्थी युनियन खारेज गर्ने तयारी गरेको भन्दै विभिन्न विद्यार्थी संगठनले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन् ।
कांग्रेस, एमाले र नेकपा निकट विद्यार्थी संगठनहरूले यस्तो निर्णयले विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिकामाथि प्रहार हुने भन्दै सरकारलाई चेतावनी दिएका छन् । सरकारले सय बुँदे कार्यक्रममार्फत राजनीतिक विद्यार्थी संगठन हटाएर ‘विद्यार्थी काउन्सिल’ गठन गर्ने निर्णय गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र अनेरास्ववियुका अध्यक्ष दीपक धामीले युनियन खारेज गर्ने निर्णय फिर्ता नभए देशव्यापी सशक्त आन्दोलन गर्ने बताएका छन् । घोषित कार्यक्रमअनुसार वैशाख ४ सम्म देशभर छलफल तथा अन्तरक्रिया, वैशाख ५ मा पूर्वविद्यार्थी नेता र सांसदसँग संवाद तथा ७–९ गते कलेजहरूमा प्रचारप्रसार, सांस्कृतिक कार्यक्रम र हस्ताक्षर अभियान सञ्चालन गरिनेछ । वैशाख १५ मा काठमाडौंसहित देशभर प्रदर्शन गर्ने तयारी छ ।
विद्यार्थी संगठनहरूले महँगी नियन्त्रण, विश्वविद्यालय सुधार, परीक्षा समयमै प्रकाशन, जीर्ण संरचना पुनर्निर्माण र विभिन्न घटनाको निष्पक्ष छानबिनलगायत माग पनि अघि सारेका छन् । माग पूरा नभए थप कडा आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।



















