
एजेन्सी । भारतीय चर्चित गायिका आशा भोसलेको आज (सोमबार) राजकीय सम्मानका साथ मुम्बईको शिवाजी पार्कमा अन्त्येष्टि गरिएको छ ।
उनको अन्तिम यात्रामा हजारौँ मानिसहरूको उपस्थिति रहेको थियो । भोसलेको पार्थिव शरीरलाई सेतो र पहेँलो फूलले सजाइएको एउटा वाहनमा राखेर शिवाजी पार्क लगिएको थियो । उनको अन्तिम यात्राका क्रममा सर्वसाधारणहरू भावुक देखिएका थिए ।
भोसलेलाई शनिबार साँझ हृदयघात भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको आइतबार बिहान निधन भएको हो ।
उनको निधनले नेपाली र भारतीय संगीत क्षेत्र शोकमा डुबेको छ । आशाले नेपाली फिल्मका लागि दर्जन बढी कालजयी गीत गाएर नेपाली श्रोताको मनमा गहिरो छाप छाडेकी छन् ।



















