अमेरिका–इरान वार्ता फेरि सुरु हुने संकेत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १, मंगलबार ०९:२४

एजेन्सी । अमेरिका र इरानबीच मध्यपूर्व तनाव कम गर्ने उद्देश्यसहित फेरि कूटनीतिक वार्ताको प्रयास तीव्र भएको छ । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एसोसिएटेड प्रेस (एपी)ले बिहीबार दुवै देशबीच नयाँ चरणको वार्ता हुन सक्ने संकेत दिएको छ ।

वार्ताका लागि अमेरिका सक्रिय रूपमा पहल गरिरहेको भए पनि इरानको औपचारिक प्रतिक्रिया भने आइसकेको छैन । यसअघि पाकिस्तानको इस्लामावादमा भएको २१ घण्टा लामो वार्ता असफल भएपछि पनि दुवै पक्ष आआफ्ना अडानमा कायम रहेकाले नयाँ संवादको सम्भावना अघि सारिएको हो ।

Advertisement

उक्त वार्ता सन् १९७९ पछि दुवै देशका शीर्ष तहका अधिकारीहरू सहभागी भएको पहिलो उच्चस्तरीय भेटवार्ता मानिएको थियो । तर, युद्ध अन्त्य र स्थायी शान्ति सम्झौतामा कुनै सहमति हुन सकेको थिएन ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले वार्तापछि सकारात्मक वातावरण बनेको बताएका छन् । उनले संसद्बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिलेसम्म कुनै नकारात्मक घटनाक्रम नदेखिएको र कूटनीतिक प्रयास सही दिशातर्फ अघि बढिरहेको बताए । उनले अर्को चरणको वार्ता छिट्टै हुने सम्भावना पनि औंल्याए ।

तर, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी पक्षले वासिङ्टनका सर्तहरू स्वीकार नगरेको दाबी गरेका छन् । उनका अनुसार अमेरिका वार्तामा अन्तिम प्रस्तावसहित प्रस्तुत भए पनि सहमति जुट्न सकेन ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरान आफ्नो परमाणु महत्वाकांक्षा त्याग्न तयार नभएकाले वार्ता असफल भएको टिप्पणी गरेका छन् । यसअघि इजरायल र अमेरिकाको इरानमाथिको सैन्य कारबाहीपछि उत्पन्न तनावका कारण क्षेत्रीय स्थिति थप जटिल बनेको बताइन्छ । जसले ऊर्जा बजार र अन्तर्राष्ट्रिय व्यापारमा समेत असर पारेको छ ।

एपीले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै वार्ताको तयारी भइरहेको जनाएको छ भने पाकिस्तानको ‘एक्सप्रेस ट्रिब्यून’ले पनि रक्षामन्त्रीको अभिव्यक्ति उल्लेख गर्दै क्षेत्रीय स्थायित्वका लागि संवाद आवश्यक रहेको जनाएको छ । विश्लेषकहरूले लामो समयदेखि जारी तनाव समाधानका लागि प्रत्यक्ष वार्ता नै महत्वपूर्ण विकल्प रहेको बताएका छन् ।

तर, दुवै देशको कडा अडानका कारण सहमति जुट्ने सम्भावना अझै अनिश्चित रहेको छ । कूटनीतिक प्रयास निरन्तर जारी रहने अपेक्षा गरिएको छ । यसमा अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.