
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका विभिन्न विषयगत समितिहरूको सभापति चयनका लागि बिहीबार (आज) उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। संसद्को काम कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्त्वपूर्ण मानिने समितिहरूले नयाँ नेतृत्व पाउन लागेका हुन् ।
संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्य तालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। इच्छुक उम्मेदवारहरूले सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराउनु पर्नेछ।
मनोनयन दर्ता प्रक्रिया सकिए लगत्तै आजै अपराह्न ४ः३० बजे उम्मेदवारहरूको नामावली सूची प्रकाशन गरिने कार्यक्रम रहेको छ। यदि कुनै पनि समितिमा एक मात्र उम्मेदवारी परेमा उनीहरू निर्विरोध निर्वाचित हुनेछन् । एकभन्दा बढी उम्मेदवारी परेको खण्डमा सोमबार (भोलि) निर्वाचनमार्फत सभापति चयन गरिने छ ।
मनोनयन र त्यसपछिको चयनसँगै संसदीय समितिहरूले पूर्णता पाउने र कानुन निर्माणको प्रक्रियामा थप गति आउने अपेक्षा गरिएको छ ।



















