
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसँग सम्बन्धित रिट निवेदनमा सर्वोच्च अदालतमा बहस सुरु भएको छ ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन गरिएको कार्यसमितिलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ अघि बढेको हो । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा रिट निवेदकको तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन् ।
यो मुद्दालाई पार्टीभित्रको नेतृत्व विवादसँग जोडिएको महत्वपूर्ण कानुनी प्रक्रियाका रूपमा हेरिएको छ । पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय बदर गर्न माग गर्दै गत माघ ४ गते रिट दायर गरेका थिए । उनीहरूले विशेष महाधिवेशनबाट चयन गरिएको कार्यसमितिलाई अवैधानिक ठहर गर्दै खारेज गर्नुपर्ने दाबी गरेका छन् ।
इजलासले बिहीबार निवेदक पक्षको बहस सुन्ने र शुक्रबार गगन थापा पक्षका कानुन व्यवसायीलाई समय दिने गरी कार्यतालिका तय गरेको छ । यसअघि चैत २७ गतेको आदेशमार्फत अदालतले दुवै पक्षलाई उपस्थित भई आफ्नो धारणा राख्न आदेश दिएको थियो ।
यस विवादको अन्तिम फैसला नेपाली कांग्रेसको आधिकारिकता निर्धारणसँगै पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण आधार बन्न सक्ने देखिएको छ ।



















