खड्कालाई छाड्न आदेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ४, शुक्रबार ०६:३१

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस नेता एवं पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका खड्कालाई अब थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउनुपर्ने अदालतले स्पष्ट गरेको हो । बिहीबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

Advertisement

उक्त निवेदन खड्काकी श्रीमती विनिता थापाले दायर गरेकी थिइन् । इजलासले खड्कालाई थुनामा राखिएको अवस्था कानुनसम्मत नरहेको ठहर गरेको छ । अदालतले अनुसन्धानकै क्रममा रहेका मुद्दामा आवश्यक परे मिलापत्रको सम्भावना पनि खुला रहेको उल्लेख गर्दै हिरासतमा राख्नुपर्ने औचित्य नदेखिएको निष्कर्ष निकालेको हो ।

खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चैत १५ गते पक्राउ गरेको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ ।

अदालतले थुनामुक्त गर्न आदेश दिए पनि खड्कामाथि केही सर्तहरू भने कायम राखिएको छ । विशेष गरी उनी विदेश जानुअघि अदालतको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । अनुसन्धान प्रक्रियामा प्रभाव नपारोस् भन्ने उद्देश्यले यस्तो आदेश आएको बताइन्छ ।

आदेशसँगै खड्का तत्काल हिरासतबाट मुक्त हुने भएका छन् । मुद्दाको अनुसन्धान भने जारी रहनेछ। अदालतको यो निर्णयले अनुसन्धान र व्यक्तिगत स्वतन्त्रताको सन्तुलन कायम गर्ने प्रयास गरिएको रूपमा हेरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.