
विराटनगर । मोरङको रंगेली नगरपालिका–७ स्थित हुलाकी सडक खण्डमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
बसपार्क नजिकै शनिबार दिउँसो १ बजेतिर मे ४ प ९०१२ नम्बरको मोटरसाइकल र भारतीय नम्बरको बीआर ३८ टी ०२८० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मे ४ प ९०१२ नम्बरको मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले गम्भीर घाइते ती युवकको उद्धार गरी तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले १ः २३ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकल (बीआर ३८ टी ०२८०) का चालक मोरङ रंगेली नगरपालिका–५ का २६ वर्षीय शनि शर्मा र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको र मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।



















