
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार (आज) बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो साढे ३ बजे बस्ने बैठकमा साङ्गठनिक सुदृढीकरण र आगामी महाधिवेशनको तयारीका विषयमा महत्त्वपूर्ण छलफल हुने बताइएको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकका लागि आधा दर्जनभन्दा बढी एजेन्डाहरू तय गरिएका छन्। बैठकमा मुख्य गरी जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग र सल्लाहकार परिषद् गठनका विषयमा छलफल हुनेछ।
यस्तै, बैठकले संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा मनोनयनको प्रक्रिया अघि बढाउने एजेन्डा समेत तय गरेको छ। पार्टीको आगामी महाधिवेशनलाई व्यवस्थित बनाउन ‘महाधिवेशन कार्यविधि मस्यौदा समिति’ गठन गर्ने र नयाँ योजनाहरू आह्वान गर्ने विषयमा पनि सचिवालयले निर्णय लिने छ।
बैठकमा विविध शीर्षकअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको सङ्गठनात्मक जिम्मेवारी, आगामी केन्द्रीय समिति बैठकको तयारी र संसदीय दलका लागि आवश्यक प्राविधिक सहायता तथा लेबीका सम्बन्धमा समेत छलफल हुने प्रवक्ता झाले जानकारी दिए।
आजको बैठकले ती योजनाहरूलाई ठोस रूप दिने अपेक्षा गरिएको छ।

























