
विराटनगर । विराटनगरमा औषधि व्यवसायीहरूको पेसागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले आयोजना गरेको उक्त तालिममा औषधिको समुचित प्रयोग, सुरक्षित भण्डारण तथा प्रभावकारी बिक्रीवितरणका विषय केन्द्रित छलफल गरिएको हो । संघको आफ्नै भवनमा सम्पन्न कार्यक्रममा औषधि व्यवस्था विभाग विराटनगरकी निमित्त प्रमुख सचिता बर्माले औषधि क्षेत्रमा बदलिँदो प्रविधि र अभ्याससँग व्यवसायीहरू अद्यावधिक हुनुपर्नेमा जोड दिइन् ।
उनले औषधिको गुणस्तर कायम राख्न भण्डारण प्रणाली सुधार र जिम्मेवार वितरण पद्धति अपरिहार्य रहेको बताइन् । औषधि बिक्रीवितरण संहिता, २०८० कार्यान्वयनमा देखिएका चुनौतीलाई क्रमशः सुधार गर्दै आधुनिक अभ्यास अपनाउनुपर्ने बर्माको भनाइ थियो ।
कार्यक्रममा विभागका फार्मेसी सुपरभाइजर दीपेन्द्र खड्काले प्राविधिक सहजीकरण गर्दै औषधि क्षेत्रको संवेदनशीलताबारे सचेत गराए । सही तापक्रममा भण्डारण र उपभोक्तालाई उचित परामर्शसहित औषधि वितरण नगरे जनस्वास्थ्यमा जोखिम बढ्ने उनले उल्लेख गरे ।
संघका अध्यक्ष देशबन्धु ढकालले व्यवसायीहरूलाई व्यापारभन्दा माथि उठेर सामाजिक उत्तरदायित्व वहन गर्न आग्रह गरे । सुरक्षित र गुणस्तरीय औषधि सेवा प्रदान गर्नु नै व्यवसायीको मुख्य दायित्व भएको उनको भनाइ थियो ।
कार्यक्रममा नयाँ वर्ष २०८३ को क्यालेन्डर विमोचनसँगै शुभकामना आदानप्रदान गरिएको थियो । साथै, विभिन्न वक्ताहरूले औषधि क्षेत्रका चुनौती र सुधारका उपायका बारेमा धारणा राखेका थिए ।



















