रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार ०७:३७

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज (सोमबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको छ । जसमा संगठन सुदृढीकरणदेखि आगामी महाधिवेशन, विधान संशोधन र निर्वाचन तयारीसम्मका विषय समेटिएका छन् ।

Advertisement

बैठकको सुरुआतमा पार्टीका हालसम्मका गतिविधिबारे विस्तृत ब्रिफिङ गरिनेछ । त्यसपछि केन्द्रीय समितिका करिब २० जना सदस्यलाई आफ्ना क्षेत्रगत गतिविधि र जनस्तरका अनुभव प्रस्तुत गर्न २–२ मिनेटको समय दिइनेछ । पार्टीले आन्तरिक संवादलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो अभ्यास अघि सारेको बताइएको छ ।

बैठकको मुख्य केन्द्रमा संगठनात्मक संरचना सुदृढीकरण र आगामी महाधिवेशनको तयारी रहनेछ । यसअन्तर्गत महाधिवेशन कार्यविधिको मस्यौदा, तयारीको खाका र जिम्मेवारी बाँडफाँटबारे छलफल हुने जनाइएको छ । त्यस्तै, पार्टी विधानमा आवश्यक संशोधनका विषयमा पनि गहन छलफल हुने छ । जसले पार्टीको आन्तरिक व्यवस्थापन र निर्णय प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्ने छ ।

केन्द्रीय समितिका पदाधिकारी मनोनयन पनि बैठकको महत्वपूर्ण एजेन्डा हो । रिक्त रहेका वा पुनर्संरचना आवश्यक देखिएका पदहरूमा निर्णय लिने तयारी गरिएको छ ।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै रास्वपाले नयाँ रणनीतिहरू अघि सारेको छ । यसअन्तर्गत ‘स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्ने र इच्छुक उम्मेदवारहरूबाट आवेदन संकलन गर्ने प्रस्ताव बैठकमा प्रस्तुत हुनेछ । पार्टीले सम्भावित उम्मेदवारहरूको प्रारम्भिक तयारीलाई संस्थागत स्वरूप दिन खोजेको देखिन्छ ।

प्रवासमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने विषयलाई पनि बैठकमा प्राथमिकताका साथ छलफल गरिनेछ । विदेशमा रहेका नेपालीले आफ्नो स्थानबाटै मतदान गर्न पाउने व्यवस्था गर्न दबाब र नीति निर्माणको दिशामा पार्टीले भूमिका बढाउने संकेत गरेको छ ।

यसैगरी, सचिवालयले यसअघि गरेका निर्णयहरूको अनुमोदन, विभिन्न आयोग तथा निकायबाट प्राप्त पत्राचारमा आवश्यक निर्णय, तथा विषयगत विभागहरूलाई नीति निर्माण र योजना तयारीका लागि निर्देशन दिने विषय पनि कार्यसूचीमा समेटिएको छ । संसदीय दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पनि बैठकको एजेन्डामध्ये एक हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.