गृहमन्त्री गुरुङमाथि छानबिन गर्न कांग्रेसको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार १३:५६

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष र स्वतन्त्र छानबिन तत्काल सुरु गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आरोपहरूलाई ढाकछोप गर्ने प्रयास भए त्यसले जनविश्वास र सुशासनमा गम्भीर असर पार्ने चेतावनी दिएको हो । पार्टीका प्रवक्ता देवराज चालिसीद्वारा जारी विज्ञप्तिमा गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको उच्चस्तरीय छानबिन प्रक्रिया बिना ढिलाइ अघि बढाउनुपर्ने उल्लेख छ ।

Advertisement

कांग्रेसले कुनै पनि प्रकारको राजनीतिक प्रभाव वा हस्तक्षेप बिना अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ । पार्टीले पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि उठेका प्रश्नहरूको तथ्यपरक छानबिन अनिवार्य रहेको बताएको छ ।

गृहमन्त्रीमाथि उठेका प्रश्नहरूले राजनीतिक नैतिकता र प्रशासनिक पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको कांग्रेसको भनाइ छ । यसैबीच, कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार मन्त्रीहरूको सम्पत्तिको स्रोतसम्बन्धी प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने पनि स्मरण गराएको छ ।

छानबिन प्रक्रिया स्वतन्त्र र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ । गृहमन्त्रीमाथि लागेका आरोपहरूको विस्तृत विवरण सार्वजनिक नभए पनि विषयले राजनीतिक वृत्तमा चर्चा पाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.