‘मैले लगानी गरेको रकम ऋणबाट जुटाइएको हो’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार १५:०४

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो सेयर बजारमा गरिएको लगानीलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिँदै लगानीको स्रोत पूर्ण रूपमा ऋणमार्फत जुटाइएको स्पष्टिकरण दिएका छन् ।

उनले बैंकिङ प्रणालीबाट भएको सबै आर्थिक कारोबार पारदर्शी हुने भएकाले कुनै पनि रकम लुकाउन सम्भव नभएको दाबी गर्दै आफ्नो लगानी कानुनी र रेकर्डमा आधारित भएको बताएका छन् । विवादित पृष्ठभूमिका केही व्यवसायीसँग नाम जोडिएपछि पछिल्ला दिनमा मिडिया र सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठेपछि गुरुङले विस्तृत स्पष्टीकरण सार्वजनिक गरेका हुन् ।

Advertisement

उनले आफ्नो सम्पूर्ण सेयर कारोबार बैंकिङ च्यानलमार्फत भएको र त्यसको स्पष्ट कागजी तथा बैंक रेकर्ड रहेको बताएका छन् । ‘आफूले सेयर बजारमा गरेको लगानीको स्रोत ऋण (कर्जा) हो । जसका लागि २०८० भदौ २९ गते लिखित तमसुकसमेत तयार गरिएको छ,’ उनले भने । उनले उक्त तमसुक औपचारिक रेकर्डमा रहेको उल्लेख गर्दै कुनै पनि आर्थिक गतिविधि अनुमान वा हल्लाका आधारमा नभई प्रमाणका आधारमा हेर्नुपर्ने बताएका छन् ।

गुरुङले भनेका छन्, ‘बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ । कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ । यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?’ उनले आर्थिक पारदर्शितामाथि प्रश्न उठाउनु नै गलत बुझाइ भएको तर्क पनि गरेका छन् ।

‘मैले लगानी गरेको रकम ऋणमार्फत जुटाइएको हो । त्यसको लिखित तमसुक २०८०–०५–२९ को हो । जुन रेकर्डमै छ,’ उनको दाबी छ । गुरुङले लगानीको स्रोतका बारेमा उठेका प्रश्नलाई लिएर ‘अनुमानको राजनीति’ भइरहेको आरोप लगाउँदै वास्तविकता कागज र बैंक विवरणले मात्र प्रमाणित गर्ने विषय भएको बताएका छन् । उनले भनेका छन्, ‘अर्थात् पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन । कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो ।’

त्यसैगरी, विवादित व्यवसायीसँग आफ्नो सम्बन्ध र सेयर साझेदारीको आरोपका बारेमा पनि उनले स्पष्ट अस्वीकार गरेका छन् । एउटै कम्पनीमा सेयर लगानी हुनुको अर्थ सबै लगानीकर्ताबीच प्रत्यक्ष साझेदारी हुन्छ भन्ने गलत बुझाइ फैलाइएको उनले बताएका छन् ।

उनले उदाहरण दिँदै भनेका छन् कि ‘एउटै कम्पनीमा सयौँदेखि हजारौँ सेयरहोल्डर हुने भएकाले सेयर किन्नु मात्रका आधारमा सबैसँग साझेदारी भएको अर्थ लाग्दैन । यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ । जुन न्यायोचित होइन ।’ उनका अनुसार केही मिडियामा आएको ‘२५ लाखको सेयर लुकाइएको’ भन्ने दाबी पनि गलत व्याख्या हो ।

उनले आफ्नो सम्पत्ति विवरणमा २ करोडभन्दा बढीको सेयर लगानी स्पष्ट रूपमा उल्लेख गरिएको र यो विवरण मन्त्रिपरिषद्को ‘वेबसाइट’मै सार्वजनिक रूपमा उपलब्ध रहेको बताएका छन् । उनले स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि त्यही विवरणभित्र समेटिएको उल्लेख गरे ।

गुरुङले भनेका छन्, ‘यदि लुकाउन चाहेको भए यति ठूलो रकमको सम्पत्ति विवरण सार्वजनिक नै नगरेको हुन्थ्यो । सिधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन,’ उनले भने ।

उनले मन्त्री बन्नुअघि सेयर बजारमा लगानी गरिएको विषयलाई लिएर उठाइएको प्रश्नलाई पनि अस्वाभाविक भनेका छन् । ‘सेयर बजारमा लगानी गर्नु कानुनी रूपमा कुनै अपराध होइन । सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत गरिएको छ,’ गुरुङले भने । गुरुङले अनुसन्धान प्रक्रियामा आफू पूर्ण रूपमा सहयोग गर्न तयार रहेको पनि बताएका छन् । उनले पार्टीले गर्ने जुनसुकै निर्णय स्वीकार गर्ने र अनुसन्धानमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कुनै पनि निर्णय भावना वा हल्लाका आधारमा नभएर प्रमाणका आधारमा हुनुपर्ने उनले बताए । ‘म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु । अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु,’ गुरुङले भने ।

साथै, उनले सहिदहरुको बलिदान र जनआन्दोलनको मर्मलाई स्मरण गर्दै सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । हल्ला र आरोपभन्दा प्रमाणमा आधारित बहस आवश्यक रहेको उनको भनाइ छ ।

हाल गृहमन्त्री गुरुङको सेयर लगानी, बैंकिङ कारोबार र विवादित व्यवसायीसँगको कथित सम्बन्धलाई लिएर राजनीतिक वृत्तमा बहस चलेको छ । तर, उनले आफू कानुनी प्रक्रिया, बैंकिङ रेकर्ड र कागजी प्रमाणमा पूर्ण रूपमा पारदर्शी रहेको दाबी दोहोर्याउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.