
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङको विषयमा उठिरहेका प्रश्नका बारेमा सरकारले तत्काल स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
काठमाडौंमा सोमबार आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले गृहमन्त्री गुरुङको नाम स्टार माइक्रो इन्स्योरेन्स कम्पनीसँग जोडिएको र त्यससम्बन्धी कागजात सार्वजनिक भइरहेका कारण सरकार र सत्तारुढ नेतृत्वले मौन बस्न नहुने बताए । लिङ्देनका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्रीको कथित साझेदारीका बारेमा पनि प्रश्न उठेकाले यसको स्पष्ट उत्तर आवश्यक छ ।
उनले भने, ‘सुशासनको कुरा गर्ने सरकारले आफ्नै मन्त्रीका बारेमा उठेका प्रश्नलाई अनदेखा गर्न मिल्दैन र प्रधानमन्त्री तथा पार्टी नेतृत्वले पनि आफ्नो स्थिति प्रष्ट पार्नुपर्छ ।’ उनले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ‘स्टन्ट’को भरमा देश चलाउन खोजिएको आरोप समेत लगाए । उनका अनुसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा देखाइएका केही गतिविधिहरू वास्तविक समस्याबाट ध्यान मोड्ने प्रयास मात्र हुन् ।
लिङ्देनले अनधिकृत संरचना हटाउने नाममा सरकारले सडकछेउका घरटहरा भत्काउने कामलाई पनि आलोचना गर्दै त्यसलाई ‘राज्य आतंक’को संज्ञा दिए । उनले सरकारको काम जनताको समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।



















