
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तारसँगै विभिन्न तहमा नयाँ नियुक्ति र लेबी परिमार्जन गरेको छ ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले सचिवालयमा सागर ढकाल र श्री ज्ञवालीलाई थप गर्दै कुल सदस्य संख्या १६ पुर्याएको हो । उक्त प्रस्ताव सभापति रवि लामिछानेले राखेका थिए । प्रस्ताव बैठकबाट पारित भएको जानकारी पार्टीका प्रवक्ता मनिष झाले दिएका छन् ।
यसैगरी, पार्टीले संघीय नेतृत्व मञ्चमा तुलसी प्रसाद चौधरी (सप्तरी), राम सिंह थारू (बर्दिया), जीवन धामी (मोरङ), प्रेमा चौधरी (कैलाली), नवराज राना (कञ्चनपुर) र एकराज चौधरी (दाङ) लाई मनोनीत गरेको छ । त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद्मा जीवन प्रभा लामा (काभ्रे), मोतीप्रसाद पंगाली (नवलपरासी पूर्व), हरिप्रसाद पाण्डे (भक्तपुर) र विष्णुहरी शर्मा (कपिलवस्तु)लाई जिम्मेवारी दिइएको छ ।
बैठकले आर्थिक पक्षतर्फ पनि निर्णय गर्दै मन्त्री, सांसद र स्वकीय सचिवहरूको लेबी परिमार्जन गरेको छ । अब सांसदहरूले मासिक १५ हजार रुपैयाँ, मन्त्रीहरूले १८ हजार रुपैयाँ र स्वकीय सचिवहरूले २ हजार रुपैयाँ लेबी बुझाउनुपर्नेछ ।
यसअघि सांसदहरूको लेवी १६ हजार ५०० रुपैयाँ रहेको थियो । पार्टीले संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न निर्णयहरू गरेको नेताहरुले जनाएका छन् ।



















