
हेटौँडा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन पूर्वाग्राही र अपूरो भएको बताएका छन् । उनले हेटौँडा आयोजित कार्यक्रममा गत भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन पूर्वाग्राही र अपूरो भएको बताएका हुन् ।
कांग्रेसको केन्द्रीय समितिद्वारा हेटौंडामा आयोजित नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले उक्त घटनाका सम्बन्धमा सत्य तथ्य, स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरे ।
गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयको सम्बन्धमा राखिएको समीक्षा कार्यक्रममा उनले नयाँ सरकारले कसैमाथि गैर कानुनी सम्पत्ति आर्जन, भ्रष्टाचारको विषयमा अनुसन्धान गर्दा कानुन, नियम, विधि प्रक्रियाअनुसार गर्नुपर्ने बताए ।
कसैप्रति पूर्वाग्रही ढंगले व्यवहार नगर्न आग्रह गर्दै उनले विधिको शासन व्यक्तिले मात्र नभएर प्रधानमन्त्रीले समेत मान्नुपर्ने बताए ।
कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसको क्रियाशील सदस्यले अब नयाँ जिम्मेवारी लिई डिजिटल रूपमा सूचना प्रविधिको सदुपयोग गरेर पार्टी नीति सिद्धान्तअनुसारका कार्यक्रम हरेक नागरिकसम्म पुर्याउनुपर्ने बताए।



















