
सिरहा । सिरहा कारागारको आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिन खोजेको आरोपमा मंगलबार बिहान २३ जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार केही दिनअघि कैदीहरूको एक समूहले चौकीदार प्रेम चौधरीलाई जबरजस्ती हटाउँदै कारागारभित्रको व्यवस्थापन कब्जा गर्ने प्रयास गरेको थियो । उक्त घटनापछि थप झडप र असुरक्षा बढ्न सक्ने देखिएकाले संलग्न ठानिएका कैदीलाई नियन्त्रणमा लिइएको जानकारी उनले दिए ।
नियन्त्रणमा रहेका कैदीमाथि कानुनी प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ । ‘विभागसँग अनुमति मागिएको छ । स्वीकृति आएपछि उनीहरूलाई आवश्यकता अनुसार अन्य कारागारमा सार्ने निर्णय हुन्छ,’ पौडेलले बताए ।
सिरहा कारागारमा यसअघि पनि गुटबन्दी, कुटपिट र आन्तरिक झडपका घटना दोहोरिँदै आएका छन् । व्यवस्थापन कमजोरी र सुरक्षाकर्मीको संलग्नतासम्बन्धी आरोपले यहाँको अवस्था पटकपटक तनावग्रस्त बन्ने गरेको छ ।
यसअघि गरिएको सुरक्षा अपरेशनमा कारागारभित्रैबाट कटुवा पेस्तोल र गोली बरामद भएको घटनाले समेत सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको थियो । पछिल्ला घटनाले कारागारको प्रभावकारी नियन्त्रण र सुधारको आवश्यकता खड्किएको देखिन्छ ।


















