विराटनगर विमानस्थलबाट अवैध चाँदीसहित एक जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ८, मंगलबार १८:०३
प्रहरीले बरामद गरेको अवैध चाँदी ।

विराटनगर । विराटनगर विमानस्थलबाट अवैध रूपमा चाँदी बोकेर काठमाडौं जान लागेका एक जनालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–४ स्थित विमानस्थलमा खटिएको प्रहरी टोलीले दिउँसो करिब ३ः१५ बजेतिर नियमित चेकजाँचका क्रममा शंकास्पद व्यक्ति फेला पारेको हो । प्रहरी नायव निरीक्षक (सई) राजेन्द्र तिम्सिनाको नेतृत्वमा रहेको टोलीले जाँच गर्ने क्रममा विराटनगर महानगरपालिका–१ बस्ने ४४ वर्षीय आशिष रिजालको साथबाट करिब ३३ तोला चाँदी फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लीलाराज लामिछानेले बताए ।

Advertisement

उनका अनुसार मंगलबारको बजार मूल्य अनुसार बरामद भएको चाँदी एक लाख ७० हजार रुपैयाँभन्दा बढीको छ । बिल बीजक वा वैध कागजात नभेटिएपछि प्रहरीले चाँदी बरामद गर्दै रिजालाई पनि पक्राउ गरेको जानकारी डीएसपी लामिछानेले बताए ।

रिजाल अपराह्न ३ः३० बजेको श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौं जान लागेका थिए । विमानस्थलको सुरक्षा जाँचलाई कडाइ गरिँदा अवैध रूपमा बहुमूल्य धातु लैजान खोजेको घटना सार्वजनिक भएको हो ।

पक्राउ परेका रिजाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त चाँदीको स्रोत खुलेको छैन । थप अनुसन्धान भइरहेको जानकारी डीएसपी लामिछानेले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.