
काठमाडौं । नेपाल कम्युनिष्ट आन्दोलनको इतिहाससँग जोडिएको महत्वपूर्ण दिनका रूपमा नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवस आज (बुधबार) देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विक्रम संवत २००६ साल वैशाख ९ गते भारतको कोलकातास्थित श्यामबजारमा गोप्य रूपमा स्थापना भएको कम्युनिष्ट पार्टीले तत्कालीन जहानियाँ राणा शासनको दमनबीच नेपाली समाजलाई सामन्तवाद, दलाल, नोकरशाही पुँजीवाद र साम्राज्यवादको शोषणबाट मुक्त गर्ने लक्ष्यसहित आफ्नो राजनीतिक यात्रा सुरु गरेको थियो । यस ऐतिहासिक पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने संस्थापक नेताहरूमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए ।
स्थापना पछिका दिनहरूमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य र केशरजंग रायमाझी लगायतका नेताहरू पनि यस आन्दोलनसँग जोडिँदै गए । स्थापना दिवसका अवसरमा बुधबार नेकपा (एमाले)ले पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
दिउँसो २ बजे हुने उक्त कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । यसैगरी, अन्य विभिन्न कम्युनिष्ट पार्टीहरूले पनि आआफ्नो तरिकाले स्थापना दिवस मनाउने तयारी गरेका छन् ।
यसै अवसरमा एमाले महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाउँदै लोकप्रियतावाद, अराजकतावाद र अवसरवादजस्ता चुनौती अस्थायी रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले जबजको वैचारिक बलसँग यस्ता प्रवृत्तिहरू टिक्न नसक्ने उल्लेख गरेका छन् ।
साथै, उनले कम्युनिष्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान व्यक्त गर्दै समाजवादको दिशामा दृढतापूर्वक अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । महासचिव पोखरेलले स्थापना दिवसका अवसरमा उपत्यकामा रहेका नेता कार्यकर्तालाई च्यासलमा आयोजना हुने कार्यक्रममा सहभागी हुन तथा उपत्यका बाहिर रहेका कार्यकर्तालाई सम्बन्धित कमिटीहरूले आयोजना गरेका कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वान समेत गरेका छन् ।

























