सुनसरीको बर्जुबाट ठूलो परिमाणमा गाँजा बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार ०९:२६

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–३ स्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । भारततर्फ तस्करी गर्दै गर्दा अन्दाजी १६० किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बुधबार बिहान करिब २ः४५ बजेतिर बर्जु–३ खरीटोलदेखि करिब ८ सय मिटर दक्षिण भारततर्फ पर्ने सीमाक्षेत्रमा सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले शंकास्पद गतिविधि देखेपछि निगरानी बढाएको थियो । त्यस क्रममा केही व्यक्तिहरूले टाउकोमा बोकेर नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको देखिएपछि प्रहरी टोली नजिकिएको थियो ।

Advertisement

प्रहरीको उपस्थिति थाहा पाउनेबित्तिकै गाँजा बोकेका व्यक्तिहरू छोडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ६ वटा पोकामा ‘प्याक’ गरिएको तयारी गाँजा बरामद भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म कप्तानगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नन्दकिशोर प्रसाद महतो र बीओपी अमडुवाबाट सशस्त्र प्रहरी निरीक्षक दिलकुमार माझीको नेतृत्वमा खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर बीओपी सशस्त्र अमडुवामा राखिएको छ ।

घटनाका बारेमा आवश्यक विवरण संकलन भइरहेको र फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी श्यामकुमार कार्कीले बताए । उनका अनुसार सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करीको गतिविधि नियन्त्रणका लागि गस्ती तथा निगरानीलाई थप कडाइ गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.