
विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा बैठक विराटनगरमा सुरु भएको छ। पार्टीको साङ्गठनिक सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा र आगामी रणनीति तय गर्न आयोजित यस बैठकमा पार्टी सभापति गगन थापा पनि सहभागी छन्।
बैठकमा कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, सङ्घीय तथा प्रदेश सांसद, जिल्ला एवं क्षेत्रीय सभापतिहरू र अघिल्लो निर्वाचनका उम्मेदवारहरूको उपस्थिति छ। कांग्रेसले यसअघि नै गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशमा यस्तै समीक्षा बैठक सम्पन्न गरिसकेको छ।
बैठकमा मुख्यगरी चुनावी परिणामको विश्लेषण, पार्टीका कमजोरी र सुधारका उपायहरू, आगामी राजनीतिक रणनीति र सङ्गठन विस्तारका विषयमा छलफल हुनेछ। साथै पार्टीको १५ औँ महाधिवेशनको तयारी, क्रियाशील सदस्यता वितरण र कार्यकर्ताको सक्रियता बढाउने एजेन्डामा समेत व्यापक छलफल भइरहेको बताइएको छ।



















