
एजेन्सी । इजरायलका लागि जासुसी गरेको आरोप लगाएर इरानमा एक व्यक्तिलाई मृत्युदण्ड दिइएको छ । इरानी न्यायपालिकाले सार्वजनिक गरेको विवरणअनुसार मेहदी फरीद नामका ती व्यक्तिले इजरायलको गुप्तचर निकायसँग सम्पर्क राख्दै देशका संवेदनशील सूचनाहरू बाहिर पठाएको आरोप पुष्टि भएपछि उनलाई फाँसी दिइएको हो ।
अदालतका अनुसार फरीद इरानको ‘प्यासिभ डिफेन्स कमिटी’ अन्तर्गतको व्यवस्थापन विभागमा कार्यरत थिए । उनले आफ्नो पदको दुरुपयोग गर्दै महत्वपूर्ण सूचना संकलन गरी इन्टरनेटमार्फत् इजरायलको गुप्तचर संस्था मोसादसँग आदानप्रदान गरेको अभियोग लगाइएको थियो । अनुसन्धानका क्रममा उनीमाथि लागेको आरोप पुष्टि भएपछि अदालतले मृत्युदण्डको फैसला सुनाएको जनाएको छ ।
यस घटनापछि अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरू र सामाजिक अभियन्ताहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले इरानमा पछिल्लो समय मृत्युदण्डका घटनाहरू तीव्र रूपमा बढिरहेको भन्दै यसको पुनरावलोकन गर्न आग्रह गरेका छन् ।
विशेषगरी इजरायल, अमेरिका र इरानबीच बढ्दो तनाव र द्वन्द्वका बीच यस्ता कारबाहीहरू थप कडा बन्दै गएको बताइएको छ । बीबीसी फारसीको रिपोर्टअनुसार जासुसी आरोप मात्रै नभएर विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा समेत केही व्यक्तिहरूलाई मृत्युदण्ड दिइएको छ ।



















