झापामा ‘स्वीप अपरेसन’ : नशामा सवारी चलाउनेसहित ६२ जना पक्राउ, ब्राउन सुगर बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ११, शुक्रबार १५:३९

झापा । झापामा लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘स्वीप अपरेसन’ अन्तर्गत प्रहरीले एकै दिन ६२ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले बिहीबार राति संयुक्त अपरेसन सञ्चालन गरेका थिए । त्यस क्रममा पक्राउ परेकाको साथबाट २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर र नगद ९ हजार रुपैयाँसमेत बरामद गरिएको झापा प्रहरीका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार पछिल्लो समय जिल्लामा लागुऔषधको प्रयोग र ओसारपसार बढ्दै गएको अवस्थालाई नियन्त्रण गर्न विशेष अभियानकै रूपमा ‘स्वीप अपरेसन’ सञ्चालन गरिएको हो ।

Advertisement

सोही क्रममा विभिन्न स्थानबाट नशामा सवारी चलाउने ६ सहित ६२ जनालाई नियन्त्रणमा लिइएको जानकारी खड्काले दिए । यसैबीच, दमक नगरपालिका–४ ताराबारी क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्ने उद्देश्यले विशेष ट्राफिक जाँच कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

दमक नगरपालिका, दमक अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको संयुक्त सहकार्यमा आयोजित उक्त कार्यक्रममा सार्वजनिक सवारी चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण र लागुऔषध तथा मदिरा सेवन जाँच गरिएको थियो । उक्त कार्यक्रममा ५४ जना चालक तथा सहचालकहरूको परीक्षण गर्दा ३ जना चालक र २ जना सहचालकले लागुऔषध सेवन गरेको पाइएको छ ।

साथै, २ जना चालकले मदिरा सेवन गरी सवारी चलाएको समेत पुष्टि भएको प्रहरीले जनाएको छ । यसरी नशा सेवन गरेर सवारी चलाउने र सार्वजनिक सुरक्षामा जोखिम सिर्जना गर्ने गतिविधिमा संलग्न ६ जना पक्राउ परेका छन् ।

सोधपुछ एवं चेकजाँचका क्रममा प्रहरीमाथि नै गालीगलौज तथा दुर्व्यवहार गरिएको थियो । गालीगलौज तथा दुर्व्यवहार गर्नेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दा चलाउन चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी खड्काले बताए ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–७ का ३२ वर्षीय सन्तोष सिवाकोटी, बिर्तामोड नगरपालिका–६ का २८ वर्षीय सुरज चौधरी, शिवसताक्षी नगरपालिका–११ का ४५ वर्षीय निर्मल सिटौला, मोरङको उर्लाबारी नगरपालिका–८ का २३ वर्षीय दिवश लिम्बू, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ का ३१ वर्षीय रवीन्द्र अर्याल र मेचीनगर नगरपालिका–८ का ४० वर्षीय सुमन न्यौपाने रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषध दुर्व्यसन नियन्त्रण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन अभियानलाई निरन्तरता दिने जनाएको छ । साथै, सर्वसाधारणलाई पनि लागुऔषधबाट टाढा रहन र सुरक्षित यातायात नियमको पालना गर्न आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.