मोरङको लेटाङमा नयाँ प्रयोग : हिरासतमा पुस्तकालय, ड्रोनबाट निगरानी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ११, शुक्रबार १७:२२

विराटनगर । मोरङको लेटाङमा प्रहरीले सुरु गरेको दुईवटा फरक एवं सन्देशमूलक अभ्यास चर्चा र चासोको विषय बनेका छन् ।

एकातिर हिरासतभित्र पुस्तकालय (लाइब्रेरी) स्थापना गरेर थुनुवाहरुलाई ज्ञान र आत्मपरिवर्तनतर्फ उन्मुख गराउने प्रयास गरिएको छ भने अर्कोतर्फ अत्याधुनिक ड्रोन प्रविधि प्रयोगमा ल्याएर शान्ति सुरक्षा व्यवस्थापनलाई नयाँ उचाइमा पुर्‍याउन खोजिएको छ । यसले परम्परागत हिसाबबाट भइरहेको शान्ति सुरक्षा र अनुसन्धान अभ्यासलाई चुनौती दिँदै आधुनिक, मानवीय र प्रविधिमैत्री प्रहरी सेवालाई बढवा दिएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय लेटाङले शुक्रबार औपचारिक रूपमा ड्रोन प्रविधिको शुभारम्भ गरेको हो । कोशी प्रदेशका प्रहरी प्रमुख, डीआईजी विनोद घिमिरेले उक्त प्रविधिको उद्घाटन गर्दै यसको प्रयोगले प्रहरीको कार्यक्षमतामा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे ।

उनले दुर्गम तथा भौगोलिक रूपमा जटिल क्षेत्रहरूमा निगरानी र खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोन अत्यन्त उपयोगी हुने बताए । ‘अब अपराध जहाँ भए पनि प्रहरीको निगरानीबाट उम्कन सकिँदैन भन्ने सन्देश प्रवाह भएको छ,’ घिमिरेले भने ।

लेटाङ आफैंमा भौगोलिक रूपमा चुनौतीपूर्ण मानिन्छ । वन क्षेत्र, खोलानाला, दुर्गम बस्ती र सीमित पहुँच भएका स्थानहरूका कारण परम्परागत गस्ती र निगरानी प्रणाली पर्याप्त हुन सकेको थिएन । यस्तै अवस्थालाई ध्यानमा राख्दै ड्रोन प्रविधि भित्र्याइएको इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख, इन्स्पेक्टर सागर साह बताउँछन् ।

उनका अनुसार अब ड्रोनलाई दैनिक गस्ती, ट्राफिक व्यवस्थापन, वन क्षेत्रको निगरानी, हराएका व्यक्तिको खोजी तथा विपद् वा आपतकालीन अवस्थामा तत्काल नतिजा दिने हिसाबले प्रयोग गरिनेछ । ड्रोनको प्रयोगसँगै प्रहरी सेवामा तीव्रता, सटीकता र जोखिम न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

विशेष गरी रातको समय, दुर्गम जंगल क्षेत्र वा बाढीपहिरो जस्ता विपद्का घटनामा ड्रोनले प्रत्यक्ष दृश्य उपलब्ध गराएर उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास गरिएको छ । यसले तत्काल प्रहरी घटनास्थलमा पुग्न सक्ने अवस्था नभएमा प्रारम्भिक जानकारी संकलन गर्न सहज बनाउनेछ ।

तर, प्रविधिको प्रयोगसँगै उठ्ने गोपनीयता र मानव अधिकारसम्बन्धी प्रश्नहरूलाई पनि प्रहरीले सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । इन्स्पेक्टर साहले पूर्ण रूपमा कानुनी दायराभित्र र व्यक्तिको गोपनीयताको सम्मान गर्दै ड्रोनको प्रयोग गरिने स्पष्ट पारे । ‘यो प्रविधि प्रहरी कार्यका लागि सीमित हुनेछ । यसको प्रयोगबाट कसैको अधिकार हनन हुने छैन,’ उनले भने ।

ड्रोन प्रविधिको सुरुवात मात्र नभएर लेटाङ प्रहरीले यसअघि हिरासतभित्र गरेको पुस्तकालय स्थापना पनि उत्तिकै महत्त्वपूर्ण मानिएको छ । सामान्यतया हिरासतलाई थुनुवा राख्ने स्थानका रूपमा बुझिने गरिए पनि प्रहरीले यसलाई सुधार र पुनर्स्थापनाको अवसरका रूपमा प्रयोग गर्न खोजेको छ ।

हिरासतभित्र स्थापना गरिएको पुस्तकालयमा विभिन्न विधाका पुस्तकहरू राखिएका छन् । जसले थुनुवाहरुलाई समय सदुपयोग गर्न, मानसिक तनाव घटाउन र सकारात्मक सोच विकास गर्न सहयोग पुर्‍याउने छ ।

प्रहरीका अनुसार धेरैजसो थुनुवाहरु सामाजिक, आर्थिक वा शैक्षिक कारणले अपराधतर्फ धकेलिएका हुन्छन् । यस्ता व्यक्तिहरूलाई सुधार्ने र समाजमा पुनःस्थापित गर्ने उद्देश्यले पुस्तकालयको अवधारणा ल्याइएको हो ।

थुनुवाहरुलाई पुस्तक पढ्न प्रोत्साहन गर्ने, उनीहरूको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने र अपराधप्रति पुनर्विचार गर्न प्रेरित गर्ने लक्ष्यसहित पुस्तकालय सञ्चालनमा ल्याइएको प्रहरीको भनाइ छ। यसले हिरासतलाई दण्डको स्थान मात्रै नभएर सिकाइ र आत्मसुधारको केन्द्रका रूपमा रूपान्तरण गर्नेछ ।

मोरङ प्रहरी प्रमुख, एसपी कवित कटवालले प्रविधिमैत्री र मानवीय दुवै किसिमका पहलहरूलाई सफल बनाउन स्थानीय तह, नागरिक समाज र सरोकारवालाहरूसँगको सहकार्य अत्यन्त आवश्यक हुने बताए । उनले ड्रोन प्रविधि र हिरासत पुस्तकालय दुवैलाई आधुनिक प्रहरी सेवाको उदाहरणका रूपमा प्रस्तुत गर्दै आगामी दिनमा यस्ता अभ्यासहरू विस्तार गरिने जानकारी दिए ।

ड्रोन प्रविधिको उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । स्थानीय अगुवाहरुले प्रहरीको यस कदमलाई स्वागत गर्दै शान्ति सुरक्षा व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

ड्रोन प्रविधिको प्रयोग र हिरासतमा पुस्तकालय स्थापनाको अभ्यासले प्रहरी सेवाको परिभाषालाई फराकिलो बनाएको छ । अपराध नियन्त्रणमा सीमित नभई सुधार, पुनर्स्थापना र प्रविधिमैत्री व्यवस्थापनतर्फ सेवा उन्मुख भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.