दलको नेता चयनका लागि हुन सकेन निर्वाचन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ११, शुक्रबार १८:३५

काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा संसदीय दलको नेता चयन प्रक्रिया सहमतिमा टुंग्याउने प्रयास असफल भएपछि शुक्रबारका लागि तय गरिएको निर्वाचन स्थगित भएको छ ।

सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माबीच उम्मेदवारको विषयमा सहमति नजुटेपछि मतदान प्रक्रिया अघि बढ्न नसकेको हो । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफल निष्कर्षविहीन बनेपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।

Advertisement

सहमतिको प्रयासका लागि थप समय आवश्यक भएको भन्दै प्रक्रिया रोकिएको हो । दलको नेताका लागि सभापति र उपसभापतिबीच मतभेद देखिएको छ । सभापति थापा पक्षले सांसद अर्जुननरसिंह केसी वा मोहन आचार्यमध्ये एकलाई अघि सार्ने प्रस्ताव गरेको छ भने उपसभापति शर्माले भीष्मराज आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने अडान राखेका छन् । यही विषयमा सहमति नजुट्दा निर्वाचन स्थगित गरिएको हो ।

पार्टीको कार्यसम्पादन समितिको बैठकले सहमति खोज्न उपसभापति शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । समितिमा नेताहरू पुष्पा भुसाल, प्रदीप पौडेल, गुरु घिमिरे, प्रकाश स्नेही रसाइली, मुना भुसाल र राजु कटुवाल रहेका छन् । समितिले उम्मेदवारहरूसँग छलफल गरेर सहमति जुटाउने प्रयास गरिरहेको छ ।

महामन्त्री प्रदीप पौडेलले विधानअनुसार सहमतिमार्फत नै दलको नेता चयन गर्ने प्रयास भइरहेको बताए । उनका अनुसार निर्वाचन स्थगित हुनु विवाद नभई सहमति खोज्ने प्रक्रियाको हिस्सा हो ।

तर, पार्टीभित्रका केही नेताहरूका अनुसार नेतृत्व चयनमा आन्तरिक मतभेद स्पष्ट देखिएको छ । आङ्देम्बेलाई देउवा र कोइराला पक्षको समेत समर्थन रहेको बताइन्छ ।

नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनमा ३८ सिट जितेको छ । तीमध्ये संस्थापन पक्षसँग १६ र देउवा–कोइराला पक्षसँग २२ सांसदको समर्थन रहेको बताइन्छ । यही शक्ति सन्तुलनका कारण दलको नेता चयन प्रक्रिया थप जटिल बनेको छ ।

हालका लागि सहमति नभएसम्म निर्वाचन प्रक्रिया अघि नबढ्ने भएको छ । समितिको छलफलपछि मात्र नयाँ कार्यतालिका तय गरिने कांग्रेसले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.