
काठमाडौं । नेपाली कांग्रेसले भूमिहीन तथा सुकुम्वासी समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने बताएको छ ।
कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता देवराज चालिसेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुकुम्वासी समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउनु पर्ने बताएका हुन् ।
‘समस्या समाधानको मूल कुरा प्रक्रियामा निहित छ । कसरी समाधान गर्ने भन्ने विषय नै प्रमुख हो,’ उनले भने,‘कानुनको शासन र ‘ड्यू प्रोसेस अफ ल’लाई स्वीकार गर्दै अघि बढ्नुपर्छ, जसबारे अदालतले पनि स्पष्ट व्याख्या गरिसकेको छ ।’
उनले यस विषयमा संसद् र अदालत दुवैमा छलफल भइसकेको भन्दै व्यवहारिक समाधानतर्फ जानुपर्ने बताए । देशमा कसैलाई पनि भूमिहीन अवस्थामा राख्न नहुने उनको भनाइ छ । ‘नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय हो । जो वास्तविक सुकुम्वासी छन्,’ उनले भने,‘उनीहरूले भूमि पाउनु उनीहरूको अधिकार हो को सुकुम्वासी हो, को होइन भन्ने छुट्टाउने जिम्मेवारी सरकारको हो ।’



















