इटहरीबाट ठूलो परिमाणमा लागुऔषध बरामद, भारतीय नागरिक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १३, आइतबार ०९:००

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–११ बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा शनिबार राति शारदा विकको घरको कोठामा छापा हानेको थियो । त्यस क्रममा विकको घरमा डेरा गरेर बस्ने भारत बिहार नरपतगन्जका २९ वर्षीय मोहमद सहनेवाजले कोठाभित्र लुकाएर राखेको ठूलो मात्रामा लागुऔषध फेला परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुखर खड्काले बताए ।

Advertisement

उनका अनुसार ट्रामाडोल ५० हजार ५ सय ४० क्याप्सुल र डाइसाइक्लोमिन ९ हजार ५ सय २० ट्याब्लेट गरेर ६० हजार ६० पिस लागुऔषध बरामद भएको छ । ठूलो मात्रामा लागुऔषध बरामद भएपछि प्रहरीले भारतीय नागरिक सहनेवाजलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएका उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक अनुसन्धानबाट उनले लागुऔषध भारतबाट लुकाइछिपाइ ल्याएर भण्डारण गरी पूर्वका विभिन्न स्थानमा ‘सप्लाई’ गर्ने गरेको पत्ता लागेको छ । भारतसँगको खुला सिमानाका कारण सीमावर्ती क्षेत्र हुँदै गिरोहले लागुऔषध भित्र्याउने र नेपालका विभिन्न सहरमा पुर्‍याउने गरेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.