
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेताका लागि आफू निर्वाचन नलड्ने बताएका छन्। उनले सहमतिमा नेता चयन गर्ने अवस्था आएमा मात्र वरिष्ठता र अनुभवका आधारमा आफ्नो दाबी रहने, तर चुनावी प्रतिस्पर्धामा भने नजाने प्रस्ट पारेका हुन्।
केसीले भने, ‘म संसदीय दलको नेतामा निर्वाचन लड्दिन। म सांसद भएर आएदेखि नै यो कुरा भन्दै आएको छु।’ आफ्ना कारणले दलको नेता चयनमा ढिलाइ भएको भन्ने चर्चा गलत रहेको बताउँदै उनले यस विषयमा नेतृत्वलाई पहिले नै जानकारी गराइसकेको उल्लेख गरे।
उनले दलको नेता चयन गर्दा निश्चित मापदण्ड बनाएर सहमति गर्न नेतृत्वलाई आग्रह समेत गरे। केसीले यदि कर्णालीकी युवा र प्रत्यक्ष निर्वाचित महिला सांसद वासना थापालाई दलको नेता बनाउने सहमति हुन्छ भने आफू उनको प्रस्तावक बस्न समेत तयार रहेको बताए।



















