बालेन सरकारसँग हर्क साम्पाङ आक्रोशित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार ११:१९

विराटनगर । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) सरकारसँग निक्कै आक्रोशित देखिएका छन् ।

उनले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको तीव्र आलोचना गरिरहेका हुन् । साम्पाङले सिन्धुलीको लोकमार्ग र रोसी खोलाले बगाएर सडक अवरुद्ध भएको विषयदेखि लिएर सुकुम्वासी बस्तीमा डोजर चलाइएको घटनासम्मको प्रसंगलाई जोड्दै सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारप्रति तीव्र असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् ।

Advertisement

उनले विभिन्न समयमा गरेका फेसबुक पोस्टहरूमा वर्तमान सरकारलाई लक्षित गर्दै कठोर शब्द प्रयोग गरेका छन् । जनताको समस्या समाधानमा असफल रहेको सरकार सुकुम्वासी बस्ती हटाउने जस्ता कारबाहीमा मात्रै सक्रिय देखिएको आरोप साम्पाङले लगाएका छन् ।

साम्पाङले सिन्धुलीको लोकमार्ग र रोसी खोलाले सडक बगाएर यातायात ठप्प भएको अवस्था सरकारका निकायहरूले बेवास्ता गरेको जस्तो देखिएको टिप्पणी गरेका छन् । तर, अर्कोतर्फ सुकुम्वासी बस्तीमा डोजर चलाएर गरिब र कमजोर वर्गमाथि राज्य कठोर बनेको उनको आरोप छ ।

उनका पोस्टमा सुकुम्वासी बस्ती हटाउने घटनामात्र नभएर मुक्कुम्लुङ क्षेत्रसँग सम्बन्धित विकास परियोजना र संरक्षणको विषय पनि उठाइएको छ । उनले कञ्चनजंघा आरक्षण क्षेत्रलाई नै असर पुग्ने गरी गुराँसघारी मासेर केवलकार परियोजना अघि बढाउन खोज्नेहरूलाई राज्यले संरक्षण गरिरहेको तर भूमिहीन र सुकुम्वासीमाथि कडा व्यवहार गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

साम्पाङले सुरक्षा निकायको भूमिकाबारे पनि प्रश्न उठाएका छन् । उनले ठूलो संख्यामा प्रहरी र सेना परिचालन हुनु जनताको सुरक्षाभन्दा पनि शक्तिशाली समूह वा सत्तासँग नजिक भएकाहरूको हितमा केन्द्रित भएको देखिने बताए । उनले सामाजिक सञ्जालमा ‘सीमामा खटिनुपर्ने सेना बस्ती खाली गराउने काममा देखिनु उचित हो कि होइन ?’ भन्ने प्रश्न पनि उठाएका छन् ।

यस्तै, उनले राज्य संयन्त्र र सुविधा वितरण प्रणालीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । ‘करोडौंको महलमा सुविधा र सुरक्षा, तर सडकमा जनता बेघर’ भन्ने आशयका पोस्टहरु उनले गरिरहेका छन् । साम्पाङले राज्य असन्तुलनको प्रतीकका रूपमा धेरै विषय उठान गरेका छन् ।

सुकुम्वासी बस्ती हटाउने क्रममा भएको डोजर प्रयोगपछि त्यहाँका बासिन्दा प्रभावित भएको दृश्यहरू सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ । घरबार गुमाएका परिवार, बालबालिका र वृद्धवृद्धा रोइरहेको दृश्यले मानवीय संवेदनाको प्रश्न उठाएको छ । यही घटनालाई लिएर हर्क साम्पाङले सरकारको आलोचना तीव्र पारेका हुन् ।

सुकुम्वासी बस्ती हटाउने विषयमा बालेन सरकारको भूमिकालाई लिएर उनी निक्कै असन्तुष्ट देखिएका छन् । साम्पाङको पछिल्लो अभिव्यक्तिले राज्यको विकास प्राथमिकता, भूमि व्यवस्थापन, सुकुम्वासी समस्या समाधानमा सरकार चुकेको भान गराउँछ ।

एकातर्फ प्राकृतिक विपद् र सडक अवरुद्धजस्ता समस्या तत्काल समाधान नहुँदा नागरिक प्रभावित भइरहेका छन् भने अर्कोतर्फ अव्यवस्थित बसोबास र सरकारी जग्गा अतिक्रमणका विषयमा पनि कारबाही भइरहेका छन् । तर, पानी परिरहेका बेला सरकारले बस्तीमा डोजर चलाएपछि सुकुम्वासीहरुको बिचल्ली भएको छ ।

तपाइको प्रतिक्रिया
‘पूर्वविशिष्टको विदेशमा उपचार खर्च राज्यले बेहोर्ने कार्यविधि खारेज’
अर्थतन्त्र सुधार्न सरकारको ‘रोडम्याप’ : ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य (हेर्नुहाेस् स्थितिपत्र)
सरकारी खर्चमा कडाइ : होटल र रिसोर्टमा कार्यक्रम गर्न रोक
सुकुम्वासी बस्ती हटाउने निर्णयमा कारण देखाउ आदेश
राष्ट्रियसभा दलको नेता हटाउने तयारीमा कांग्रेस
निर्माण क्षेत्रमा देखिएको संकट तत्काल समाधान गर
आदिकवि भानुभक्तको जन्मथलोमा ‘भानु साहित्य उद्यान’ को शिलान्यास
धर्ना बसेकी पाठकमाथि हातपात, ७ जना पक्राउ
कोशीका निर्माण व्यवसायीले गुहारे प्रदेश सरकार
सेयर बजारमा ७.७३ अङ्कको सुधार, नेप्से २७९६ विन्दुमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.