
इनरुवा । सुनसरी प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरूवा नगरपालिका–३ सखुवागाछीमा चेकजाँचका क्रममा लागुऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट सखुवागाछिबाट खटिएको संयुक्त टोलीले सोमबार साँझ करिब ५ बजेतिर लौकहीबाट इटहरीतर्फ जाँदै गरेको को २५ प ५०५५ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो । जाँचका क्रममा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–१ का युएन लिम्बूले लगाएको हेल्मेटभित्र लुकाएर राखिएको ५.३५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
त्यसलगत्तै प्रहरीले उक्त मोटरसाइकलको पछाडि सवार इटहरी–१ का १८ वर्षीय आशिष बान्तावा राईलाई समेत नियन्त्रणमा लिएको छ । बरामद लागुऔषध र मोटरसाइकलसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

























