
विराटनगर । मोरङमा चार जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले चेक बाउन्स मुद्दामा एक महिना कैद र आठ लाख ५५ हजार रुपैयाँ जरिबाना तोकिएका ४५ वर्षीय रोशनकुमार राईलाई आफ्नै घरबाट पक्राउ गरेको छ । लामो समयदेखि फरार रहेका उनलाई अदालत पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले चेक अनादर मुद्दामा जरिबाना तोकिएका सुन्दरहरैंचा–१ का ५१ वर्षीय ललित बहादुर कार्कीलाई उनकै घरबाट नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले पुराना मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । कागजात किर्ते मुद्दामा जरिबाना तोकिएकी रतुवामाई–३ की उर्मिला बानियाँ तथा गाली बेइजती मुद्दामा दोषी ठहर भएका रतुवामाई–५ का रोहित बस्नेतलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई प्रहरीले अदालतमा पेस गरेको छ । कैद तोकिएकालाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको र जरिबाना तोकिएकालाई असुलउपर गरेर छाडिएको अदालतले जनाएको छ ।

























