विराटनगरका उद्योगी व्यवसायीको सुझाव : सरकार श्रमिक सम्झौतामा मात्रै सीमित हुन हुँदैन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १५, मंगलबार १८:४९

विराटनगर । मोरङ उद्योग व्यापार संघले नेपाल सरकारले अब विश्वका विभिन्न मुलुकसँग श्रमिक आप्रवासनसम्बन्धी सम्झौतामा सीमित रहन नहुने सुझाव दिएको छ ।

श्रमिक मात्रै नभएर व्यापारिक सम्झौतामा पनि समानान्तर रूपमा अघि बढ्नुपर्ने आवश्यकता उद्योगी व्यवसायीले औंल्याएका छन् । विराटनगरमा मंगलबार आयोजित सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुसँगको स्वागत एवं भेटघाट कार्यक्रममा उद्योगी व्यवसायीले सरकार श्रमिक आप्रवासनमा मात्रै सीमित नरहेर व्यापारिक सम्झौतामा पनि अघि बढ्नुपर्ने बताए ।

Advertisement

संघका अध्यक्ष अनुपम राठीले वर्तमान आर्थिक संरचनालाई अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष जोड्न व्यापारिक सम्झौता अपरिहार्य भएको बताए । उनका अनुसार नेपालले लामो समयदेखि श्रमिक आप्रवासनलाई मात्र प्राथमिकता दिँदै आएको भए पनि अब निर्यात, लगानी र व्यापार विस्तारलाई केन्द्रमा राखेर कूटनीतिक आर्थिक सम्बन्ध विस्तार गर्नुपर्ने समय आएको छ ।

‘अब विश्वका देशसँग श्रमिक सम्झौता मात्र गरेर पुग्दैन,’ अध्यक्ष राठीले भने, ‘व्यापारिक सम्झौतासँगै अघि बढे मात्रै नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्छ र समग्र अर्थतन्त्र मजबुत हुन्छ ।’ उनले सुनसरी–मोरङ औद्योगिक करिडोरको अवस्था पनि उठाउँदै त्यहाँ बढ्दो मानव बस्ती विस्तारले उद्योग सञ्चालनमा चुनौती थपिरहेको बताए । करिडोरलाई व्यवस्थित गर्न छुट्टै औद्योगिक क्षेत्र विकास आवश्यक रहेको उनको सुझाव थियो ।

संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले हालै सरकारले खोलानालाका किनारमा रहेका बस्ती हटाउने अभियानलाई सकारात्मक कदमको रूपमा लिएको बताए । विगतका सरकारहरूले गर्न नसकेको काम अहिलेको सरकारले अघि बढाएको भन्दै उनले प्रशंसा गरे ।

उनले उद्योग क्षेत्रभित्र देखिएका अनियमितता र प्रणालीगत कमजोरीप्रति पनि सरकार कठोर बन्नुपर्नेमा जोड दिएका छन् । ‘उद्योगी व्यवसायी मात्र नभएर प्रणाली बिगार्ने कर्मचारी र आर्थिक अनियमिततामा संलग्न सबैमाथि समान रूपमा कारबाही हुनुपर्छ,’ सारडाले भने ।

मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट निर्माणमा आयात नीतिमा पुनरावलोकन आवश्यक रहेको धारणा राखे । उनका अनुसार नेपालमा आयात हुँदै आएका १५ भन्दा बढी वस्तुमा भन्सार दर घटाएर बजारलाई प्रतिस्पर्धी बनाउनुपर्ने आवश्यकता छ ।

रिजालले धार्मिक पर्यटन प्रवर्धन गरेर भारत र चीनबाट वार्षिक करिब एक करोड पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको बताए । पर्यटन प्रवर्धनका लागि प्रभावकारी योजना बनाएर काम गर्नुपर्ने सुझाव उनको छ ।

त्यसैगरी, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष खेमचन्द जैनले विगतका सरकारले बनाएका केही नीतिहरूले अर्थतन्त्रमा नकारात्मक असर पारेको आरोप लगाए । उनले वर्तमान सरकारले त्यस्ता कमजोरी सच्याउँदै उत्पादनमुखी नीति ल्याउनुपर्ने सुझाव दिए ।

संघले रास्वपा केन्द्रीय कोषाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य लिमा अधिकारीसहित मोरङबाट निर्वाचित संघीय सांसदहरूलाई स्वागत गरेको थियो । कार्यक्रममा उद्योग, व्यापार र नीतिगत सुधारका विषयमा व्यापक छलफल भएको सहभागीहरूले बताएका छन् ।

उद्योगी व्यवसायीहरूले नेपाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन व्यापारिक सम्झौता विस्तार, औद्योगिक करिडोरको व्यवस्थापन, भन्सार नीतिमा सुधार तथा पर्यटन प्रवर्धनमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.