बजेट लेखन तीव्र: आकार घट्ने संकेत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार १०:४८

काठमाडौं । अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट लेखन कार्यले तीव्रता पाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट मस्यौदा निर्माणमा मन्त्रालय केन्द्रित भएको बताउँदै जेठ १५ को संवैधानिक समयसीमाभित्रै बजेट ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।

वैशाख १५ बितिसक्दा पनि सरकारले बजेट अधिवेशन आह्वान नगरेकाले पर्याप्त संसदीय छलफल बिना नै बजेट आउने हो कि भन्ने आशंका उब्जिएको छ ।

Advertisement

यसपटक बजेटको आकार गत वर्षको तुलनामा केही सानो हुने देखिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टका अनुसार स्रोत परिचालनमा परेको दबाबका कारण सरकारले ठूलो आकारको बजेट ल्याउने सम्भावना छैन । राजस्व संकलनमा देखिएको संकुचन, बढ्दो सामाजिक सुरक्षा खर्च र सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीका लागि मात्रै कुल बजेटको एक तिहाइ विनियोजन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । अर्थ मन्त्रालयका सह-सचिव टंकप्रसाद पाण्डेले पनि पूँजीगत खर्च गर्ने क्षमता कमजोर रहेकाले बजेटको सिलिङ नबढाइने प्रष्ट पारेका छन् ।

मन्त्रालयमा सह-सचिव उत्तरकुमार खत्रीको नेतृत्वमा बजेट लेखनको काम भइरहेको छ । अर्थ सचिव डा. घनश्याम उपाध्याय र राजस्व सचिव भूपाल बरालको समन्वयमा सैद्धान्तिक विषयहरूको लेखन सकिएर मन्त्रालयगत आयोजना र कार्यक्रमहरू समेट्ने काम सुरु भएको छ ।

राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षका लागि १८ खर्ब ९० अर्बको बजेट सिलिङ दिएको छ, जुन चालु आर्थिक वर्षको १९ खर्ब ६४ अर्बको बजेटभन्दा कम हो । सरकारले कर नीतिलाई १० वर्षसम्म स्थिर राख्ने प्रतिबद्धता जनाएकाले यसपटक करका दरहरूमा ठूलो फेरबदल नहुने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.