सांसद महावीर पुनले गरे सम्पत्ति विवरण सार्वजनिक 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार १२:३१
सांसद महावीर पुनले गरे सम्पत्ति विवरण सार्वजनिक 

काठमाडौं । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका सांसद पुनले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै पारदर्शिता र सुशासनप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन् । सार्वजनिक गरिएको विवरणअनुसार पुनले बैंक मौज्दात, सुन र जग्गाजमिन देखाएका छन् ।

Advertisement

उनले आफ्नो नाममा दुई वटा बैंकमा नगद जम्मा रहेको उल्लेख गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ मौज्दात रहेको उनले जनाएका छन् । वाणिज्य बैंकमा रहेको २५ लाख रुपैयाँ भने आफूले निर्वाचनका क्रममा प्राप्त गरेको  ‘चुनावी चन्दा’ भएको उनले स्पष्ट पारेका छन् ।

सम्पत्ति विवरणमा उल्लेख भएअनुसार उनको श्रीमतीको करिब तीन तोला सुन रहेको छ । उक्त सुन विभिन्न समयमा इष्टमित्र र आफन्तहरूबाट उपहार स्वरूप प्राप्त भएको विवरणमा खुलाइएको छ ।

घरजग्गातर्फ सांसद पुनको नाममा कास्की जिल्लाका विभिन्न स्थानमा गरी कुल २७ रोपनी १५ आना ४ पैसा जग्गा रहेको छ । यो जग्गा विभिन्न कित्तामा रहेको उनले उल्लेख गरेका छन् ।

स्वतन्त्र रूपमा निर्वाचित भएका पुनले जनताको प्रतिनिधि हुनुको नाताले आफ्नो आर्थिक अवस्थाबारे मतदाता र आम नागरिकलाई जानकारी गराउनु कर्तव्य भएको बताउँदै यो विवरण सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.