अध्यादेशबारे साझा रणनीति बनाउने विपक्षीको कसरत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १७, बिहीबार ०८:०३

काठमाडौं । सरकारले एकैपटक ल्याएका अध्यादेशहरूबारे राजनीतिक बहस चर्किरहेका बेला विपक्षी दलहरू फेरि संयुक्त छलफलमा जुट्दैछन् । बिहीबार बिहान ११ः३० बजे नेकपा (एमाले) संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सरकारका पछिल्ला कदममाथि साझा रणनीति बनाउने तयारी छ ।

विपक्षी दलहरुले अध्यादेशबारे साझा रणनीति बनाउने कसरत गरिरहेका छन् । पछिल्लो समय संसद् नियमित सञ्चालन हुन नसकेको अवस्थामा सरकारले अध्यादेश सिफारिस गरेपछि विपक्षी दलहरूले त्यसलाई लोकतान्त्रिक र संवैधानिक दृष्टिले गम्भीर प्रश्नका रूपमा लिएका छन् ।

Advertisement

बुधबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको प्रारम्भिक छलफलपछि बिहीबार दोस्रो चरणको बैठक बस्न लागेको हो । उक्त बैठकमा अध्यादेशको आवश्यकता, समय र प्रक्रियाका बारेमा छलफल हुने बताइएको छ ।

विपक्षी दलहरूले संसद् छलेर अध्यादेशमार्फत शासन गर्ने प्रवृत्तिले संसदीय अभ्यास कमजोर बनाउने भन्दै आपत्ति जनाएका छन् । उनीहरू संसद् पुनः सञ्चालनका लागि साझा पहल गर्ने र आवश्यक परे संयुक्त धारणा सार्वजनिक गर्ने तयारीमा छन् ।

बैठकले आगामी राजनीतिक कदमबारे पनि दिशा तय गर्ने अपेक्षा गरिएको छ । यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले पनि अध्यादेशको संवैधानिक पक्षबारे शीतल निवासमा संविधानविद्हरूसँग परामर्श गर्दैछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.