पेट्रोलियम पदार्थको मूल्य घट्यो, खाना पकाउने ग्यास महँगियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार ०६:१९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाएको छ ।

नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू भएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य अब २१७ रुपैयाँ कायम भएको छ । यसअघि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य २१९ रुपैयाँ रहेको थियो । त्यस्तै सुर्खेत र दाङमा यसअघि २१८ रुपैयाँ रहेको पेट्रोलको मूल्य घटेर २१६ रुपैयाँमा झरेको छ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको उतारचढावका आधारमा मूल्य समायोजन गरिएको निगमको दाबी छ ।

तर, हवाइ इन्धनको मूल्य भने बढाइएको छ । निगमका अनुसार आन्तरिक उडानतर्फ हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि भने काठमाडौंबाट हुने आपूर्तिमा प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको जनाइएको छ । यसले हवाई सेवा प्रदायक कम्पनीहरूको लागतमा वृद्धि हुने देखिएको छ ।

यसैबीच, सर्वसाधारणको दैनिकीसँग प्रत्यक्ष जोडिएको खाना पकाउने ग्यासको मूल्य भने बढाइएको छ । नयाँ मूल्यअनुसार अब एक सिलिण्डर ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि यस्तो ग्यासको मूल्य २ हजार १० रुपैयाँ रहेको थियो । प्रति सिलिण्डर १५० रुपैयाँले मूल्य वृद्धि भएको हो ।

त्यस्तै, आधा सिलिण्डर ग्यासको मूल्य पनि बढाएर १ हजार ८० रुपैयाँ तोकिएको छ । यसअघि आधा सिलिण्डरको मूल्य १ हजार ५ रुपैयाँ रहेको थियो । ग्यासको मूल्यवृद्धिले विशेषगरी निम्न तथा मध्यम आय वर्गका उपभोक्तालाई थप आर्थिक भार पर्ने देखिएको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य वृद्धि भएकाले बाध्य भएर मूल्य समायोजन गर्नुपरेको जनाएको छ । पछिल्लो समय इन्धनको मूल्यमा भइरहेको बारम्बारका परिवर्तनले बजारमा अन्य वस्तु तथा सेवाको मूल्यमा समेत प्रभाव पार्ने गरेको छ ।

सरकारले मूल्य समायोजनलाई अन्तर्राष्ट्रिय बजारसँग जोडेर व्याख्या गर्दै आएको छ भने उपभोक्ताहरूले भने बारम्बारको मूल्यवृद्धिप्रति असन्तुष्टि जनाउँदै आएका छन् । यस्तो अवस्थामा इन्धनको मूल्य घट्दा राहत महसुस भए पनि ग्यासजस्तो दैनिक आवश्यक वस्तु महँगिँदा त्यसको प्रत्यक्ष असर घरायसी खर्चमा पर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.