जनप्रतिनिधिसहित १४ जना दोषी ठहर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १८, शुक्रबार ०७:४६

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकु कुमारी सदायको सामूहिक बलात्कार र त्यसपछिको शंकास्पद मृत्यु प्रकरणमा जिल्ला अदालतले जनप्रतिनिधिसहित १४ जनालाई दोषी ठहर गरेको छ ।

जिल्ला अदालत सिरहाका मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले दोषी ठहर गर्दै जनप्रतिनिधिसहितलाई फरकफरक कसुरअनुसार सजाय तोकेको हो । अदालतले घटनालाई लुकाउने प्रयास, पञ्चायतीमार्फत मिलापत्र गर्ने र कानुनी प्रक्रियामा अवरोध पुर्‍याउने कार्यमा संलग्न रहेको ठहर गर्दै वडासदस्य नथुनी साह, रामकृपाल मण्डल, विन्देश्वर साह र रामदेव सदायलगायतलाई जनही आठ महिना कैद र सात हजार रुपैयाँ जरिबानाको फैसला गरेको छ ।

जनप्रतिनिधिको हैसियतमा रहेर अपराधलाई संरक्षण गरेको ठहर गर्दै वडासदस्य नथुनी साहलाई थप छ महिना कैद सजायसमेत सुनाइएको छ । घटनामा प्रत्यक्ष संलग्न रहेको ठहर भएका तीन नाबालकलाई पनि अदालतले दोषी ठहर गरेको छ । उनीहरूलाई कानुनी प्रक्रिया अनुसार सुधारात्मक दायरामा राखिने व्यवस्था हुने बताइएको छ ।

अदालतले पीडित पक्षलाई क्षतिपूर्तिसमेत दिलाउने फैसला गरेको छ । दोषीहरूबाट जनही ३५ हजार रुपैयाँका दरले क्षतिपूर्ति पीडितका हकवालालाई उपलब्ध गराउनुपर्ने निर्णय भएको छ ।

घटना २०८१ साल माघ २७ गते राति भएको थियो । शौच गर्न घरबाहिर निस्केकी रिंकुमाथि सामूहिक बलात्कार भएको आरोपपछि घटना गाउँमै सीमित राख्ने प्रयास गरिएको थियो ।

माघ २९ र ३० गते वडासदस्य नथुनी साहको रोहवरमा दुई पटक पञ्चायती बसेर रकम लिएर मिलाउने प्रयास भएको थियो । तर, रकम बाँडफाँटमा विवाद भएपछि सहमति जुट्न सकेन ।

त्यसपछि माघ ३० गते रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । ढोका भित्रबाट बन्द अवस्थामा शव भेटिएकाले घटनालाई सुरुदेखि नै शंकास्पद मानिँदै आएको थियो । पछि अनुसन्धान अघि बढ्दै जाँदा अदालतले विभिन्न संलग्नता र लुकाउने प्रयासलाई प्रमाणका आधारमा पुष्टि गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.