
रौतहट । आफ्नै बाबुको हत्या गरी फरार रहेका एक व्यक्ति १८ वर्षपछि पक्राउ परेका छन् । रौतहटको तत्कालीन जयनगर गाविस–४ (हाल गरुडा नगरपालिका–१) का ४९ वर्षीय रामविलास महतोलाई प्रहरीले चितवनबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार घटना २०६४ साल जेठ २० गते राति भएको थियो । ६५ वर्षीय विश्वेश्वर महतो कोइरीलाई आफ्नै गोठघरमा हातखुट्टा बाँधेर धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हत्यापछि अभियुक्त फरार भएका थिए । सूक्ष्म अनुसन्धान र पछिल्लो सूचनाका आधारमा उनी चितवनमा लुकेर बसेको अवस्थामा फेला परेका हुन् ।
प्रारम्भिक अनुसन्धानमा हत्याको कारण ऋण र जग्गा विवाद देखिएको छ । अभियुक्तले विभिन्न व्यक्तिसँग ऋण लिएको र जग्गासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको खुलेको प्रहरीले जनाएको छ ।
अनुसन्धान अनुसार उनले ऋण र जग्गा विवादबाट छुटकारा पाउन आफ्नै बाबुको हत्या गरी विपक्षीहरूलाई ज्यान मुद्दामा फसाउने योजना बनाएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका महतोमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।



















