महिलाका लागि ‘स्वस्थ स्न्याक्स’ बनाउने तालिम 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार १४:२६
महिलाका लागि ‘स्वस्थ स्न्याक्स’ बनाउने तालिम 

विराटनगर । उद्योग संगठन मोरङको महिला उद्यम समितिको आयोजना तथा एस्पायर कलेजको समन्वयमा महिलाहरूका लागि आयोजित दुई दिने ‘स्वस्थ स्न्याक्स’ बनाउने व्यावहारिक तालिम सम्पन्न भएको छ । स्वास्थ्यमैत्री र बजारमुखी खाजा बनाउने सीप प्रदान गरी महिलाहरूलाई उद्यमशीलतामा जोड्ने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको हो ।

तालिमको समापन समारोहमा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले वर्तमान समयमा मानिसहरूमा स्वास्थ्यप्रतिको सचेतना बढ्दै गएको बताए । पोषणयुक्त, सुरक्षित र स्वच्छ खानाको माग उल्लेखनीय रूपमा बढिरहेको छ, अध्यक्ष राठीले भने, ‘यही आवश्यकतालाई ध्यानमा राखेर आयोजना गरिएको यो तालिमले सहभागी महिलाहरूमा रहेको सीपलाई व्यावसायिक अवसरमा रूपान्तरण गर्न सहयोग पुग्ने छ ।’

त्यसैगरी, संगठनका कार्यसमिति सदस्य एवं महिला समिति इन्चार्ज किरण ब्यासले स्वस्थ खाजा उत्पादनलाई आयआर्जनको राम्रो माध्यम बनाउन सकिने धारणा राखिन् । उनले यस प्रकारका तालिमले महिलाहरूलाई सीपमार्फत आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।

महिला उद्यम समितिकी संयोजक जयन्ती आचार्यले तालिमले परिकार बनाउन सिकाउनुका साथै त्यसलाई आम्दानीको स्रोतमा बदल्ने सोच विकास गराएको बताइन् । उत्पादनको गुणस्तरसँगै आधुनिक प्रस्तुतीकरण र आकर्षक प्याकेजिङमा जोड दिनुपर्ने बताउँदै, उनले भनिन्, ‘बजारमा प्रतिस्पर्धा गर्नका लागि राम्रो उत्पादनसँगै उत्कृष्ट प्रस्तुति पनि अनिवार्य छ ।’

तालिमका प्रशिक्षक अखिलेशप्रताप सिंहले सहभागीहरूलाई स्वस्थ स्न्याक्स निर्माणका व्यावहारिक विधिहरू, स्वच्छता, खाद्य सुरक्षा तथा व्यावसायिक खाजा व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए । उनले यस्तो ज्ञानले सहभागीहरूलाई जिम्मेवार उद्यमी बन्न मद्दत पुग्ने उल्लेख गरे ।

महिलाहरूको सीप विकास, आयआर्जन र उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्यका साथ आयोजित यस तालिमले सहभागी महिलाहरूलाई आत्मनिर्भर बन्न थप टेवा पुग्ने अपेक्षा उद्योग संगठन मोरङले लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.