रामबहादुर बम्जनलाई सफाइ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार १७:५५

सर्लाही । जिल्ला अदालत सर्लाहीले सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनलाई सफाइ दिएको छ ।

न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले अभियोग पुष्टि हुने पर्याप्त प्रमाण नपुगेको ठहर गर्दै उनलाई गत वैशाख ८ गते सफाइ दिएको हो । यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०८० पुस २४ गते बूढानीलकण्ठबाट बम्जनलाई पक्राउ गरेको थियो ।

पक्राउका क्रममा ठूलो परिमाणमा नगद बरामद भएपछि उनीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दर्ता गरिएको थियो । सोही आधारमा उनीविरुद्ध अनुसन्धान अघि बढाइएको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा उनले सफाइ पाएका हुन् ।

बम्जनमाथि बाल यौन दूराचार तथा मानिस बेपत्ता पारेको आरोपसमेत लगाइएको थियो । तर, उच्च अदालत जनकपुरले २०८१ चैत ६ गते बाल यौन दूराचार मुद्दामा पनि उनलाई सफाइ दिएको थियो । त्यसपछि उनी कारागारबाट रिहा भएका थिए ।

यसअघि जिल्ला अदालत सर्लाहीले २०८१ असार १७ गते बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

यद्यपि, बम्जनमाथि सिन्धुपाल्चोकस्थित आश्रमबाट एक अनुयायी बेपत्ता पारेको आरोप अझै अनुसन्धानकै चरणमा रहेको जनाइएको छ । उक्त मुद्दा भने हालसम्म अदालतमा दर्ता भइसकेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.