
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुकुम्वासी समस्या समाधानमा ढिलाइ नगर्न सरकारलाई आग्रह गरेको छ ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले चैत मसान्तभित्र सुकुम्वासीलाई व्यवस्थित हिसाबले व्यवस्थापन गर्न रास्वपाले औपचारिक सुझाव दिने निर्णय गरेको हो । रास्वपाले विशेषगरी काठमाडौं उपत्यकाका खोला किनारामा जोखिमपूर्ण अवस्थामा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न जोड दिएको छ ।
पार्टी प्रवक्ता मनिष झाले वर्षायाम नजिकिँदै गइरहेको सन्दर्भमा बाढीको जोखिम बढ्ने भएकाले ढिलाइ नगरी सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने बताए । उनका अनुसार बैठकले घरबारविहीन नागरिकलाई गाँस, बास र आधारभूत स्वास्थ्य सेवासहित व्यवस्थित बसोबासको सुनिश्चितता गर्न सरकारलाई सुझाव दिएको छ ।
यसका लागि अधिकार सम्पन्न प्राधिकरण गठन गरी स्पष्ट लगत संकलन गर्ने र सोही आधारमा काम अघि बढाउने प्रस्ताव गरिएको छ । रास्वपाले चैत मसान्तभित्र कम्तीमा ७५ प्रतिशत सुकुम्वासीलाई व्यवस्थापन गरिसक्ने लक्ष्य राख्न सरकारलाई सुझाएको छ ।
साथै, वास्तविक तथ्यांक संकलन नहुँदासम्म अव्यवस्थित रूपमा डोजर प्रयोग नगर्न पनि आग्रह गरिएको छ । पार्टीले स्थानीय तहसँग समन्वय गर्दै दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ ।

























