
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कसैलाई पनि घरबारविहीन नबनाइने प्रतिबद्धता जनाएको छ । पार्टी सभापति रवि लामिछानेले सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउने क्रममा कुनै पनि नागरिकलाई घरबारविहीन बन्न नदिने स्पष्ट पारेका छन् ।
पार्टी कार्यालयमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अव्यवस्थित बसोबास र भूमिहीन सुकुम्वासीको समस्या समाधानका लागि शक्तिशाली प्राधिकरण वा आयोगमार्फत निर्णय कार्यान्वयन गरिने बताए । उनका अनुसार जोखिमपूर्ण स्थान, नदी किनार, पहिरो वा बाढीको जोखिम भएका क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ ।
लामिछानेले सरकारको कदम जनतालाई आतंकित पार्ने नभएको दाबी गर्दै देशभर असुरक्षित बसोबासबारे सूचना जारी गरिएको पनि उल्लेख गरे । उनका अनुसार केन्द्र सरकारले सुरक्षित पुनर्वासलाई प्राथमिकता दिँदै समस्या समाधानको प्रयास गरिरहेको छ ।
यसैबीच, बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती खोलामा ६१ वर्षीय इन्द्रबहादुर राई मृत फेला परेको घटनाबारे रास्वपाका प्रवक्ता मनिष झाले प्रतिक्रिया दिएका छन् । उनले स्थानान्तरणकै कारण आत्महत्या भएको भन्ने दाबी हाल प्रमाणित नभएको बताउँदै पोस्टमार्टम र सुरक्षा निकायको प्रतिवेदनपछि मात्र निष्कर्षमा पुग्न सकिने उल्लेख गरे ।
झाका अनुसार यदि स्थानान्तरणकै कारणले आत्महत्या भएको प्रमाणित भएमा राज्यले गम्भीर रूपमा आवश्यक कदम चाल्नेछ । घटनापछि सुकुम्वासी बस्तीमा तनाव र चिन्ता बढेको भए पनि अनुसन्धान प्रक्रिया अघि बढाइएको सुरक्षा निकायले जनाएको छ ।

























