पूर्वी नेपालका पाँच साना भन्सार निष्क्रिय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २१, सोमबार ०६:२१

झापा । पूर्वी नेपालका सीमावर्ती नाकामा स्थापना गरिएका साना भन्सार कार्यालयहरू वर्षौँदेखि बन्द अवस्थामा रहँदा सीमापार व्यापार र राजस्व संकलन दुवै प्रभावित बनेका छन् ।

मेची भन्सार कार्यालय काँकरभिट्टा मातहत रहेका छवटा छोटी भन्सारमध्ये हाल एउटा मात्रै सञ्चालनमा छ । बाँकी पाँच पूर्ण रूपमा निष्क्रिय रहेका छन् ।
मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज–२ को आठमौजा, मेचीनगर–२ को गाडागल्ली, मेचीनगर–४ को बाहुनडाँगी, मेचीनगर–५ को नकलबन्दा, मेचीनगर–७ को सतिघट्टा र गौरीगन्ज–१ को महाभारा क्षेत्रमा छोटी भन्सार स्थापना गरिएका थिए ।

तर, यीमध्ये अहिले आठमौजा बाहेक सबै बन्द छन् । सञ्चालनमा रहेको आठमौजामा समेत अपेक्षित कारोबार हुन नसकेको भन्सार कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार सीमावर्ती क्षेत्रमा व्यापारिक गतिविधि न्यून हुँदा अधिकांश छोटी भन्सार सञ्चालनमा आउन सकेका छैनन् ।

‘भन्सार कार्यालय स्थापना गरेर मात्र आयातनिर्यात सम्भव हुँदैन । त्यसका लागि क्वारेन्टाइन, जाँच तथा अन्य आवश्यक संरचनाहरू पनि अनिवार्य हुन्छन् । जुन यी नाकाहरूमा अभावमा छन्,’ उनले भने । पूर्वी नेपालको प्रमुख नाका काँकरभिट्टामा भने सुक्खा बन्दरगाह, अध्यागमन, क्वारेन्टाइन र प्रविधियुक्त जाँच कक्षजस्ता आवश्यक संरचना उपलब्ध छन् । जसले गर्दा त्यहीँ केन्द्रित भएर व्यापार भइरहेको छ । अन्य साना नाकामा यस्ता पूर्वाधार नहुँदा गतिविधि विस्तार हुन सकेको छैन ।

मेचीनगर–४ स्थित बाहुनडाँगी छोटी भन्सार विगत आठ वर्षदेखि पूर्ण रूपमा बन्द छ । स्थानीय जनप्रतिनिधि अर्जुनकुमार कार्कीका अनुसार ऐतिहासिक रूपमा महत्त्वपूर्ण यो नाका लामो समयदेखि प्रयोगमा नआउँदा स्थानीय निराश छन् । उनले आवश्यक सहयोग गर्न स्थानीय तह तयार रहेको बताउँदै पुनः सञ्चालनका लागि सरकारसँग आग्रह गरेका छन् ।

बाहुनडाँगी क्षेत्र राणाकालदेखि नै सीमावर्ती व्यापारिक नाकाका रूपमा चिनिँदै आएको थियो । इलाम र झापाका बासिन्दा भारतको नक्सलबारी हुँदै कोलकातासम्म आवतजावत गर्ने प्रमुख मार्गका रूपमा यसको प्रयोग हुन्थ्यो । यति ऐतिहासिक पृष्ठभूमि बोकेको नाका बन्द हुँदा यसको महत्व क्रमशः हराउँदै गएको स्थानीयको गुनासो छ ।

अधिकांश बन्द भन्सारका भवन जीर्ण अवस्थामा छन् । कतिपय स्थानमा आफ्नै भवन भए पनि नियमित सञ्चालन नहुँदा संरक्षण र प्रयोग दुवैमा समस्या देखिएको छ । सुरक्षा भने सशस्त्र प्रहरीले निरन्तर दिँदै आएको छ ।

आठमौजा छोटी भन्सार काँकरभिट्टाबाट करिब ७५ किलोमिटर टाढा पर्छ । जहाँ भारततर्फ फत्तेपुर बजार अवस्थित छ । तर, अन्य नाकाहरूमा भारतीय पक्षमा पर्याप्त बजार र व्यापारिक पूर्वाधार नहुँदा सीमापार कारोबार विस्तार हुन सकेको छैन ।

सरकारले सीमावर्ती क्षेत्रमा व्यापार विस्तार र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यले स्थापना गरेका साना भन्सार कार्यालय लामो समयदेखि निष्क्रिय रहनु नीति र कार्यान्वयनबीचको खाडलको उदाहरण बनेको छ । स्थानीय तह र सरोकारवालाहरूले पूर्वाधार विस्तार, सेवा सुविधा थप तथा समन्वयकारी पहलमार्फत नाकाहरुलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.