बोक्सी आरोपमा अमानवीय व्यवहार, मुख्य आरोपी पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २१, सोमबार ०७:२८

रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया टोलमा एक ५५ वर्षीया एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट र अमानवीय व्यवहार गरिएको घटनाका मुख्य आरोपी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय शंकर माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । अन्य संलग्न व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

स्थानीय केही व्यक्तिहरूले आफ्ना नातेदारको बालक बिरामी परेको भन्दै बोक्सीको आरोप लगाएर ती महिलालाई घरमै प्रवेश गरी कुटपिट गरेका थिए । पीडितका अनुसार आक्रमणकारीहरूले गालीगलौज गर्दै जबरजस्ती मानव मलमूत्र घोलेको पदार्थ खुवाएर अमानवीय व्यवहार गरेका थिए ।

घटनापछि अचेत अवस्थामा रहेकी महिलालाई इलाका प्रहरी कार्यालय कटहरियाको टोलीले उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा लगेको थियो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.