विराट चोकमा दोस्रो ‘नेपाल मानव संसाधन सम्मेलन’ हुने 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २१, सोमबार १९:५१
विराट चोकमा दोस्रो ‘नेपाल मानव संसाधन सम्मेलन’ हुने 

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा आगामी वैशाख २५ र २६ गते मोरङको विराट चोकमा ‘नेपाल मानव संसाधन सम्मेलन’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । नेपालको औद्योगिक क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्दै सक्षम र उत्पादनशील जनशक्ति निर्माण गर्ने उद्देश्यका साथ यो सम्मेलन आयोजना हुन लागेको हो ।

मुलुकको औद्योगिक परिदृश्य हाल दक्ष जनशक्तिको अभाव, वैदेशिक पलायनको उच्च दर, सीप र आवश्यकताबीचको असन्तुलन तथा कर्मचारी टिकाइ राख्ने समस्याबाट गुज्रिरहेको सन्दर्भमा यो सम्मेलनलाई निकै महत्वका साथ हेरिएको छ । सम्मेलनले मानव संसाधनलाई केवल प्रशासनको पाटो मात्र नभई उत्पादनशीलता र दिगो विकासको रणनीतिक आधारका रूपमा पुनः परिभाषित गर्ने लक्ष्य लिएको छ ।

Advertisement

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार सम्मेलनले मानव संसाधन व्यवस्थापनलाई गुणस्तर र उत्पादकत्वसँग प्रत्यक्ष जोड्ने प्रयास गर्नेछ । ‘हामीले औद्योगिक विकासको कुरा गर्दा मेसिन र प्रविधि मात्र नभई त्यसलाई चलाउने मानवीय शक्तिलाई पनि उत्तिकै ध्यान दिनुपर्छ,’ अध्यक्ष राठीले भने, ‘यो सम्मेलनले नवीन अभ्यासहरूको आदानप्रदान, डिजिटल एचआर प्रणालीको प्रवर्द्धन र रोजगारदाता तथा तालिम प्रदायकबीचको खाडल पुर्ने काम गर्ने छ ।’

सम्मेलनलाई दुई दिनमा कुल ९ वटा सत्रहरूमा विभाजन गरिएको छ । संगठनका कार्यसमिति सदस्य एवं मानव संसाधन विकास समितिका संयोजक दीपक अग्रवालका अनुसार सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अनुभवी वक्ताहरूको सहभागिता रहने छ ।

अग्रवालका अनुसार सत्रहरूमा बहुराष्ट्रिय कम्पनीहरूले अपनाएका सफल एचआर अभ्यास, प्रविधि र डिजिटल एचआर प्रणालीले जनशक्तिमा पारेको प्रभाव, कर्मचारी स्थायित्वका उपाय र प्रचलित श्रम ऐन कानुन, अप्रेन्टिसशिप (प्रयोगात्मक सिकाइ) तथा मूल्य अभिवृद्धि श्रृंखलामा जनशक्तिको योगदान र प्रेरणादायी वक्ताहरूबाट सफलताका व्यवहारिक सूत्रहरू प्रस्तुत हुने छन् ।

सम्मेलनमा उद्योगी, व्यवस्थापक, मानव संसाधन प्रमुखहरू, सरकारी नीति विश्लेषक, तालिम प्रदायक संस्था र विद्यार्थीहरू गरी १५० भन्दा बढीको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ ।

सन् २०२४ मा सम्पन्न पहिलो संस्करणको सफलतापछि आयोजित यो दोस्रो सम्मेलनले नेपालको औद्योगिक क्षेत्रका लागि एक ‘रणनीतिक रोडम्याप’ तयार गर्ने विश्वास लिइएको छ । सम्मेलनको समापनमा कर्मचारी स्थायित्वका उपायहरू पहिचान हुने, अप्रेन्टिसशिप मोडेलको विकास हुने र डिजिटल प्रणालीसम्बन्धी व्यवहारिक ज्ञान विस्तार हुने आयोजकको दाबी छ ।

यस सम्मेलनले नेपालको औद्योगिक रूपान्तरणका लागि मानव संसाधनलाई प्रमुख खम्बाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.