
काठमाडौं । व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धरौटीमा रिहा भएको केही समयमै पुनः पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई हिरासतबाट निस्कनासाथ बिमा ऐनसम्बन्धी कसुरमा पुनः नियन्त्रणमा लिएको हो । यसअघि सर्वोच्च अदालतले धितोपत्रसम्बन्धी मुद्दामा गोल्छालाई ५ लाख रुपैयाँ धरौटी वा जमानतमा छोड्न आदेश दिएको थियो ।
न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले धरौटी नदिएको अवस्थामा मात्र हिरासतमा राख्न सकिने स्पष्ट पारेको थियो । जिल्ला अदालत काठमाडौंले वैशाख ११ मा उनलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको थियो ।
तर, सर्वोच्चले सो प्रक्रियामा धरौटी माग नगरी थुनामा राखिएको भन्दै कानुनी प्रक्रिया नपुगेको ठहर गरेको हो । गोल्छालाई यसअघि वैशाख १० मा सीआईबीले पक्राउ गरेको थियो । उनकी पत्नीले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेपछि सर्वोच्चले सुनुवाइ गर्दै आदेश दिएको हो ।



















