
इलाम । इलामको सूर्योदय नगरपालिका–१ गोर्खे बजारमा एक सुत्केरी हुन लागेको गाईको हत्या गरिएको छ । स्थानीय दीपेश मोदीको गोठमा बाँधिएको ‘काली’ नामको गाईलाई आइतबार बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको हुन् ।
आइतबार बिहान गोठमा जाँदा गाईको घाँटीमा पाँच ठाउँमा र टाउकोमा गहिरो चोट लागेर रगतले लतपतिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गोठमा अन्य ५ वटा बस्तुभाउ सुरक्षित रहे पनि साउनमा ब्याउने तयारीमा रहेको गर्भवती गाईलाई मात्र निशाना बनाइनुले घटनालाई थप रहस्यमयी बनाएको छ ।
उनीहरूले गाईको मृत्युमा १३ औँ दिनसम्म जुठो बार्ने र धार्मिक विधिअनुसार सुद्ध्याइँ गर्ने बताएका छन् । साउनमा ब्याउने गाईलाई यसरी निर्ममतापूर्वक मारिनु जघन्य अपराध हो, दीपेशले भने, ‘राज्यले यसलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरोस् ।’
घटनाको जानकारी पाए लगत्तै प्रहरी र पशु चिकित्सकको टोलीले घटनास्थल पुगेर पोस्टमार्टम गरी गाईको सद्गत गरेको छ । इलामका प्रहरी प्रमुख एसपी कुलदीप चन्दले घटनाको सघन अनुसन्धान भइरहेको बताएका छन् । प्रहरीले दोषीलाई चाँडै कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।
यता सामाजिक सञ्जालमा समेत यो क्रूर घटनाको चर्को विरोध गर्दै घटनाको छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गरिएको छ ।



















